जनकपुरधाम:सरकारले काठमाण्डौ–तराई–मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) आयोजनाको लागि मकवानपुर जिल्लामा जग्गा प्राप्ति गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार पछिल्लो मन्त्रिपरिषद् बैठकले झन्डै ३३ हजार नौ सय ७५ वर्गमिटर जग्गा प्राप्त गर्न स्वीकृति प्रदान गरेको छ ।
यसैगरी, नेपाल आयल निगम लिमिटेडलाई जितपुर सिमरा उपमहानगरपालिकामा झन्डै पाँच बिघा जग्गा प्राप्त गर्न स्वीकृति दिने निर्णय पनि सरकारले गरेको छ ।
त्यसैगरी, सरकारले सामाजिक सञ्जाल टिकटकमा लगाइएको रोक तोकिएका शर्तहरूको पालना हुनेगरी हटाउने निर्णय गरेको छ । मन्त्री गुरुङका अनुसार, तोकिएका शर्तहरू पूरा भएपछि यो निर्णय कार्यान्वयनमा आउनेछ ।