जनकपुरधाम:जनताका मुद्दा र सवाललाई लिएर सडक संघर्ष गर्ने जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले घोषणा गरेका छन् । आइतबार काठमाडौंमा जनतासँग जसपा, नेपाल अभियन्ता अभिमुखीकरणको उद्घाटन गर्दै उनले यस्तो घोषणा गरेका हुन् ।
उनले जनतालाई सचेत र संगठित गर्न आफूहरूले चारमहिने अभियान चलाएको जानकारी गराए । यो अभियानपछि संगठनलाई सुदृढ गर्ने र तेस्रो चरणमा जनताका मुद्दा र सवाललाई लिएर सडक संघर्षमा उत्रने उनले उल्लेख गरे ।
उनले मुलुकलाई बचाउने भए अब अरूको मुख ताकेर नहुने बताए । जसपा, नेपालले सडक र जनताका बीचबाट हस्तक्षेपकारी भूमिका खेल्न तयार हुनुपर्ने उनको भनाइ थियो । अध्यक्ष यादवले दलित, जनजाति, महिला, मुस्लिमको सहभागिता हटाएर राजनीतिक स्थिरता सम्भव नरहेको बताए ।