सहअध्यक्षमा रकम चेम्जोङ, महासचिवमा लालबाबु राउत र रामकुमार शर्मा
जनकपुरधाम:जनता समाजवादी पार्टी (जसपा) नेपालको पदाधिकारी र कार्यकारिणी सिमितिले पूर्णता पाएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवले महाधिवेशन भएको करिब साढे दुई महिनापछि पदाधिकारी र कार्यकारिणी समितिका साथै केन्द्रीय समितिलाई पूर्णता दिएको हो ।
त्यसबेला अधिवेशन अध्यक्षको मात्रै टुंगो लगाएर सकिएको थियो । र, त्यसपछि पदाधिकारी मनोनीत गर्ने सर्वाधिकार अध्यक्ष यादवलाई नै दिएको थियो ।
अध्यक्ष यादवले पार्टीको सहअध्यक्षमा रकम चेम्जोङलाई मनोनीत गरेका छन् भने उपाध्यक्षहरूमा राजकिशोर यादव, मृगेन्द्रकुमार सिंह यादव, गोविन्द चौधरी, शिवलाल थापामगर, विद्युत बज्राचार्यलाई मनोनीत गरेका छन् ।
यसैगरी महासचिवमा लालबाबु राउत र रामकुमार शर्मा रहेका छन् भने उपमहासिचवमा प्रकाश अधिकारी, दीपक कार्की र रेखा यादवलाई मनोनीत गरेका छन् । सचिवहरूमा लिला सिटौला, शैलेन्द्र साह, सुनी लामा, राजकुमार राई, लाक्पा शेर्पा र कमरुद्धीन राई रहेका छन् । कोषाध्यक्षमा सुरिताकुमारी साह मनोनीत भएकी छन् ।
कार्यकारिणी सदस्यहरुमा हरिनारायण यादव, अर्जुन थापा, डा.सुरेन्द्रकुमार यादव, अशेश्वर यादव, डा.कृष्णकुमार राई, निर्मला यादव, तारा विश्वकर्मा, राजकुमार गुप्ता, जयराम यादव र रामकिशोर यादव रहेका छन् ।
ईन्दु केन्द्रमा पनि परिनन्
नेकपा (माओवादी केन्द्र) छाडेर उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका रामकुमार शर्मा सो पार्टीको महासचिव बनेका छन् । जसपाले पदाधिकारी चयन गर्दा शर्मालाई महासचिव बनाएको हो । शर्मासँगै मधेस प्रदेसका पूर्वमुख्यमन्त्री लालबाबु राउत पनि पार्टीको महासचिव चयन भएका छन् । नेता शर्मा र उनकी पत्नी इन्दु शर्मा माओवादी छाडेर गत वैशाख ९ गते जसपामा प्रवेश गरेका थिए ।
शर्मा माओवादी केन्द्रमा हुँदा एकपटक पोलिटब्युरो सदस्य र लामो समय केन्द्रीय सदस्य थिए । इन्दु शर्मा पनि माओवादीबाट सांसद र केन्द्रीय सदस्य बनेकी थिइन् । तर, इन्दु शर्मा भने जसपाको केन्द्रमा परिनन् । गत निर्वाचनमा महोत्तरी क्षेत्र नम्बर ३ ‘ख’ मा पाएको टिकट पनि खोसिएपछि रामकुमार शर्मा माओवादी नेतृत्वसँग रुष्ट बनेका थिए ।
सुरुमा माओवादीले शर्मालाई महोत्तरी ३ प्रदेशसभा ‘ख’ को टिकट दिएको थियो । तर, पाँच दलीय गठबन्धनका कारण लोसपालाई महोत्तरी ३ को ‘ख’ क्षेत्र छाड्नुपर्ने भएपछि मनोनयनको दिन उनको टिकट खोसिएको थियो । त्यतिबेलै उनले अब आफू उपेन्द्र यादवको पार्टीमा प्रवेश गर्ने घोषणा नै गरेका थिए । आफूलाई विश्वास गरेर उपेन्द्र यादवले पार्टीको महासचिव बनाएको भन्दै शर्माले प्रसन्नता व्यक्त गरे।