तीन वर्षमै झण्डै ५ सयको मृत्यु
जनकपुरधाम:गएको असार २० मा धनुषाको धनौजीमा पोखरीमा डुबेर तीन बालबालिकाको मृत्यु भएको थियो । गाउँपालिकाको वडा नम्बर ५ बहुअर्वामा नुहाउने क्रममा पोखरीमा डुबेर ११ र १२ वर्षका मुस्कान खातुन, जिनत खातुन र अजमेरी खातुनको मृत्यु थियो ।
यी दुई घटना पछिल्ला उदाहरण मात्रै हुन् । प्रहरीको तथ्यांक हेर्ने हो भने मधेस प्रदेशमा वर्षेनि डुबेर मृत्यु हुनेको संख्या डरलाग्दो छ । मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशमा सयौँको संख्यामा डुबेर मानिसहरूको मृत्यु हुने गरेको छ ।
प्रदेश प्रहरी प्रवक्ता, प्रहरी उपरीक्षक सुवासचन्द्र बोहोरा मधेस प्रदेशमा पोखरी, खाडल, खोला, इनार तथा पानी थापेर राखिएका भाँडाहरूमा समेत डुबेर मृत्यु हुने गरेको बताउँछन् । पछिल्लो तीन वर्षको प्रहरी तथ्यांक अनुसार बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी गरी मधेस प्रदेशका आठ जिल्लामा झन्डै पाँच सय मानिसको डुबेर मृत्यु भएको छ ।
मधेस प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८-०७९ मा मधेस प्रदेशका ८ जिल्लामा २०६ जनाको डुबेर मृत्यु भएको छ। जसमा १०९ जना बालबालिका रहेका छन्। ७६ जना पुरुष र २१ जना महिलाको डुबेर मृत्यु भएको छ । तथ्यांक हेर्दा सबैभन्दा धेरै धनुषामा ३६ जना पुरुष र सिरहामा २५ जना बालबालिकाको डुबेर मृत्यु भएको छ ।
आर्थिक वर्ष २०७९-०८० मा यो तथ्यांक केही घटेको देखिएको छ। यस वर्ष ६५ जना बालबालिकासहित डुबेर मृत्यु हुनेको संख्या १०५ छ । अघिल्लो वर्षभन्दा यो वर्षमा घटना कम हुनुको कारणबारेको जिज्ञासामा प्रहरी उपरीक्षक बोहोराले भने, ‘किन कम भयो होला भन्दा त्यो वर्ष पानी कम आएको हुनसक्छ या त खाल्टाहरू कम खनिएको हुन सक्छ । ठ्याक्कै यो कारण हो भनेरचाहिँ यस विषयमा अध्ययन भएको छैन ।’
आर्थिक वर्ष २०७९-०८० को तुलनामा आर्थिक वर्ष २०८०-०८१ मा डुबेर मृत्यु हुनेको संख्या बढेको छ। आ.ब. २०८०-०८१ को असार (२० गते) सम्म १७० जनाको डुबेर मृत्यु भएको छ । ११३ बालबालिका, ४३ पुरुष र १४ जना महिलाको मृत्यु भएको छ ।
डुबेर मृत्यु हुने घटनाको वार्षिक तथ्यांक हेर्दा बालबालिकापछि सबैभन्दा धेरै पुरुषहरू यस्ता घटनामा परेको पाइएको छ। तुलनात्मक रुपमा महिलाको संख्या कम छ। आर्थिक वर्ष २०७८-०७९ मा ५ जना, २०७९-०८० मा १ जना र २०८०-०८१ मा ११ जना डुबेर घाइते भएका छन्।
निर्माणका लागि खनेका खाल्डाहरू, खोलाबाट गिटीबालुवा निकालेर बनेका खाडल, बाटो तथा कुलो निर्माणका लागि खनिएका खाल्डा, पोखरीमा डुबेर मानिसहरूको मृत्यु भइरहेको छ । प्रहरी उपरीक्षक बोहोराले भने, ‘बाटो बनाउँदाखेरी खाल्डो खनेर छोड्दिने अनि त्यसमा पानी जमेको हुन्छ, पानी जमेपछि बच्चाहरू डुब्ने घटना भइरहेको छ। साना केटाकेटीहरू पोखरीमा नुहाउन जाँदा पनि डुब्ने गरेको घटना धेरै छ। खोलामा पनि डुबिराखेका हुन्छन् ।’
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरीले चलाएको सचेतनाको कार्यक्रमबाहेक यसबारेमा सरकारले गम्भीरताका साथ अध्ययन गरेर न्यूनीकरणका अभियानहरू चलाएको पाइँदैन । प्रदेश प्रहरी कार्यालयका अनुसार स्थानीय सरकार तथा प्रदेश सरकारका कुनै पनि निकायले यस्ता घटना कम गर्नका लागि के गर्न सकिन्छ भनेर चासो राखेको वा प्रहरीसँग छलफल गर्ने गरेको छैन ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेल प्राधिकरणले अघिल्लो दुई वर्षमा कुन प्रदेशमा यस्ता घटना बढी भइरहेको छ भन्ने विषयमा छलफल गरेको बताउँछन् । उनले जिल्लामा सीडीओ कार्यालयलाई परिपत्र गरिएको पनि जानकारी दिए।