पत्रकारिता क्षेत्रमा देखिएका समस्या समाधान गर्न आफू तयार रहेको मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानून मन्त्री राज कुमार लेखीले प्रतिबद्धता जनाएका छन् ।
नेपाल पत्रकार महासङ्घ धनुषाको आयोजनामा बिहीवार जनकपुरधाममा सम्पन्न “सञ्चार कानूनको निर्माण र कार्यान्वयनको अवस्था” विषयक प्रदेश स्तरीय संवाद कार्यक्रममा बोल्दै सञ्चारमन्त्री लेखीले यस्तो प्रतिबद्धता जनाएको हो ।
उनले मधेश प्रदेशका पत्रपत्रिकाहरूलाई प्रदेश सरकारबाट लोक कल्याणकारी विज्ञापन सहितका अन्य कार्यक्रमहरू गर्नका लागि सरकारले चालु आर्थिक वर्षमा १ करोड ५० लाख बजेट आम सञ्चार प्राधिकरणलाई उपलब्ध गराएका बताए । सञ्चारमन्त्री लेखीले ज्येष्ठ पत्रकार वृत्ति विकासका लागि चालु आर्थिक वर्षमा बजेट बिनियोजन नभएपनि कार्यक्रमको शुरुआतको प्रयास यसैवर्षदेखि गर्ने भने ।
उनले वर्तमान सरकार पूर्ण रुपमा नै पत्रकार तथा सञ्चार मैत्री भएकाले प्रदेश सरकारले बनाएको कानुनहरूमा कही कतै त्रुटि भएको खण्डमा त्यसमा सुधार गर्नका लागि पत्रकारहरूसँग छलफल गर्न मन्त्रालय सधैँ तयार रहेको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय कोषाध्यक्ष कलेन्द्र सैजुवालले अप्ठ्यारो अवस्थामा परेका सञ्चार माध्यमको सुरक्षा, ज्येष्ठ पत्रकार वृत्ति तथा पत्रकारिता पढ्न चाहनेहरूका लागि छात्रवृत्ति उपलब्ध गराउने तर्फ प्रदेश सरकारले ध्यान दिनुपर्ने बताए ।
यस्तै जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले पत्रकारहरुको हकहितका लागि उपमहानगरले त्यस्तो कुनै निती नलिएपनि पत्रकारिता क्षेत्रको विकासका लागि उपमहानगरपालिकाले सहयोग गर्नका लागि तयार रहेको बताए । राजर्षि जनक विश्व विद्यालयका डिन डा. सत्यनारायण साहले विश्व विद्यालयले पत्रकारिता सम्बन्धि पठन पाठनको शुरुआत यसैवर्षदेखि गरेको जानकारी दिए ।
नेपाल पत्रकार महासङ्घ धनुषाका अध्यक्ष मनिका झाको अध्यक्षतामा भएको सो कार्यक्रममा मानव अधिकार आयोग क्षेत्रिय कार्यालयका कार्यालय प्रमुख बुधनारायण सहनी, मिडिया काउन्सीलका कार्यवाहक अध्यक्ष कैलाश दास, वरिष्ठ पत्रकार वि.एम. खनाल, मधेशी पत्रकार समाज धनुषाका अध्यक्ष सुभाष कर्ण, नेपाल पत्रकार महासंघ धनुषाका उपाध्यक्ष अवधेश कामत, पत्रकार सन्तोष कर्ण, अनिल कर्ण, कमलेश ठाकुर र चाँदनी झा लगायतका पत्रकारहरुले आ आफ्ना सुझाव दिएका थिए ।