मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले वीरगञ्जमा रहेको मधेस विश्वविद्यालयको जग्गा समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।
विश्वविद्यालयका कुलपतिसमेत रहेका मुख्यमन्त्री सिंहलाई विश्वविद्यालयका लागि आवश्यक पर्सा जिल्लाको बहुदरमाई नगरपालिका वडा नम्बर २ मा रहेको ३५ बिघा जग्गाबारेमा जिल्लाबाट सिफारिश आएपछि मन्त्रिपरिषद्को बैठकबाट निर्णय गराएर समस्या समाधान गर्ने बताए ।
मधेस विश्वविद्यालय निर्माणका लागि बहुदरमाई नगरपालिकाका प्रमुख सिंहासन साहको मञ्जुरीमा प्रजिअ दिनेश सागर भुसालको अध्यक्षतामा भूमिसुधार तथा मालपोत र नापी कार्यालयका प्रमुखहरूको सदस्यतामा रहेको सिफारिश समितिले उक्त ३५ बिघा सार्वजनिक जग्गा विश्वविद्यालयको निर्माणका लागि प्रयोग गर्न दिने निर्णय गरेको थियो । सिफारिशको पत्र मुख्यमन्त्री सिंहलाई बुझाइएको छ ।
मधेस विश्वविद्यालय केही वर्षदेखि वीरगञ्जको वडा नम्बर १२ स्थित नेशनल ट्रेडिङमा अस्थायी रुपमा सञ्चालन भइरहेको छ । विश्वविद्यालयको आफ्नै जग्गा अभावमा उक्त स्थानमा सञ्चालन हुँदै आएको हो ।
मुख्यमन्त्री सिंहसहित अर्थमन्त्री सुनील यादव र शिक्षामन्त्री रीना तिवारीलाई प्रा.डा. दीपक शाक्य र नेता नेजामुद्दीन समानीले भेटेर विश्वविद्यालय निर्माण तथा पोखरिया अस्पतालको भौतिक निर्माणलगायतका विभिन्न अधूरा आयोजनाहरू पूरा गराउन ध्यानाकर्षण गराएका छन् ।