धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरस्थित नेपाल आयल निगमको डिपोमा कार्यरत एक कर्मचारीको हत्या भएको छ । डिपोमा कार्यरत सिरहा नगरपालिका– ३ बस्ने अन्दाजी ४० वर्षीय राकेशकुमार बर्माको हत्या भएको जिल्ला प्रहरी कार्यालय धनुषााका प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए ।

बर्माको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको धनुषाधाम– ४ बस्ने प्रकाश यादव रहेको अवाले बताए । पक्राउ परेका यादव पनि बर्मासँगै निगमको डिपोमा कार्यरत कर्मचारी हुन् । घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको उनले जानकारी दिए ।

बर्मा र यादवलगायतका कर्मचारीबीच शुक्रबार बिहान कार्यालयमा विवाद भएको थियो । विवादका क्रममा यादवलगायतका व्यक्तिहरूको कुटपिटबाट बर्माको मृत्यु भएको डीएसपी अवाले जानकारी दिए । उनले भने, ‘बिहान १० बजेको घटना हो । उनीहरूबीच केही विषयमा विवाद भएको थियो । सहकर्मीहरूको कुटपिटबाट उनको मृत्यु भएको बुझिएको छ ।’

झगडाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । यस विषयमा पक्राउ परेका यादवसँग सोधपुछ गरिरहेको अवाले बताए । मृतकको शरीर र अनुहारमा चोट हेर्दा कडा वस्तुले प्रहार गरेको देखिएको उनले बताए । उनका अनुसार यसअघि पनि उनीहरूबीच पटक–पटक विवाद हुने गरेको थियो ।

मृतकको शव घटनास्थलमै रहेको र परिवारका सदस्य आइसकेपछि पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइने उनले बताए । बर्मा विगत ४ वर्षदेखि महेन्द्रनगरस्थित नेपाल आयल निगमको डिपोमा करारमा कार्यरत थिए ।

स्थानीय आन्दोलित

नेपाल आयल निगम, धनुषा महेन्द्रनगर इन्धन डिपोमा कार्यरत कर्मचारी राकेश बर्माको हत्याको विरोधमा स्थानीय आन्दोलन सुरु गरेका छन् ।

शुक्रबार विहान १० बजे कार्यालयमै कर्मचारी बर्माको सोही कार्यालयका कर्मचारी प्रकाश यादवले विभत्स तरिकाले हत्या गरेका हुन् । हत्यामा संलग्न सबैला नगरपालिका २ का यादव पक्राउ परिसकेका छन् ।

मृतक बर्मा सिरहा नगरपालिका ३ का हुन् । उनका श्रीमती, ५ वर्षीया छोरी र डेढ वर्षका छोरा छन् ।

मृतक परिवारलाई राहत उपलब्ध गराउनुपर्ने र अपराधीलाई कडा कारबाहीको माग गर्दै महेन्द्रनगरबासी डिपो अगाडि प्रदर्शन गरिरहेका छन् ।

मृतकको शव पहिले सम्मान घटनास्थलमै छन् । मृतकका छोरा–छोरीलाई शिक्षाको ग्यारेन्टी, उचित राहत र घटनामा संलग्नलाई कडा कारबाही गर्नुपर्ने माग पीडित परिवारको छ ।

डिपो प्रमुख इन्जिनियर मनोज कुमारले वार्ताको नाममा समय बर्बाद गरिरहेको भन्दै स्थानीय आक्रोशित बनेका छन् । उनीहरु मृतक परिवारको माग सम्बोधन नगरे सडक अबरुद्ध गर्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको