
जनकपुरधाम:धनुषा र महोत्तरीका चार गाउँपालिकाका अतिविपन्न तथा सीमान्तकृत घर परिवारलाई लक्षित गरेर चालु आर्थिक वर्ष २०८१-०८२ देखि लागु भएको खाद्य तथा पोषण सुरक्षाको कार्यक्रमलाई प्रभावकारी बनाउने बारे सरोकारवालाहरुले प्रतिबद्धता जनाएका छन् ।
खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना, आयोजना क्लष्टर इकाई धनुषाले जनकपुरधाममा चारै पालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत तथा कृषि, पशु, दुग्ध क्षेत्रका वरिष्ठ विज्ञ तथा प्रमुखहरूको अगुवाइमा भएको अभिमुखीकरण कार्यक्रममा प्रतिबद्धता व्यक्त गरिएको हो ।
विश्व बैङ्क र विश्व कृषि तथा खाद्य सुरक्षा कार्यक्रमको सहयोगमा नेपाल सरकारले सरकारले बाढी तथा जलवायु परिवर्तनका कारणले अति प्रभावित भएर खाद्य तथा पोषणका दृष्टिकोणले कमजोर बनेको धनुषाको जनकनन्दनी, बटेश्वर र महोत्तरीका सोनमा एवं सम्सी गाउँपालिकामा खाद्य तथा पोषण सुरक्षाको कार्यक्रम सञ्चालनमा आएको छ ।
मधेश प्रदेशका चार जिल्लाहरू धनुषा, महोत्तरी, सिरहा, सप्तरी र पहाडी जिल्लाको दोलखा, सिन्धुपाल्चोक, धादिङ र गोरखा जिल्लामा कार्यक्रम सञ्चालनमा रहेको छ । आयोजनाको कार्यक्षेत्र भएको धनुषा तथा महोत्तरी जिल्लाका चार पालिकामा कृषि, दुग्ध तथा मासुको उत्पादन बढाएर महिला तथा बालबालिकाको पोषण अवस्थामा सुधार गर्ने लक्ष्यसहित चालु आर्थिक वर्षदेखि आर्थिक वर्ष २०८३–२०८४ सम्म सञ्चालन हुने भएको छ ।
धनुषाका तथा महोत्तरीका चार पालिकामा चालु आर्थिक वर्षमा कृषि, पशुजन्य पदार्थको उत्पादन तथा उत्पादकत्व वृद्धि गरि खाद्य सुरक्षामा जोड दिने, जलवायु तथा पोषण मैत्री कृषि प्रविधिहरूको अनुसरण र प्रसारण गर्ने, साना कृषकहरूको आयआर्जन र विविधीकरण गरी बजारमा पहुँच बढाउने उद्देश्य आयोजनाको रहेको छ ।
सुनौलो हजार दिनका आमा तथा ६ देखि २४ महिनाको बच्चाहरूको पोषण अवस्थामा सुधार ल्याउने र कृषकहरूको क्षमता अभिवृद्धि गर्ने, उत्पादन समूह तथा सहकारीको संस्थागत विकास एवं सबलीकरण गर्ने उद्देश्य चार पालिकामा गठन भएको ५४० समूह मार्फत काम गरिने भएको आयोजनाका क्लष्टर इकाईका प्रमुख युगल किशोर तिवारीले जानकारी दिएका छन् ।