जनकपुरधाम:नेपाल क्रिकेट टिम आईसीसी विश्वकप लिग २ को तयारीका लागि श्रीलंका जाने भएको छ । भारतको नेशनल क्रिकेट एकेडेमी बेंगलोरमा दुई साता अभ्यास गरेर नेपाल दुई दिनअघि मात्रै स्वदेश फर्किएको थियो ।
सेप्टेम्बर २ देखि ९ सम्म नेपालले श्रीलंकामा अभ्यास गर्ने भएको छ । नेपालले श्रीलंका डेभ्लपमेन्ट टोलीसँग ३, ५ र ७ सेप्टेम्बरमा मा तीन एकदिवसीय अभ्यास खेल खेल्ने भएको छ ।
अघिल्लो महिना नै क्यानडा टी–२० लिग खेल्न गएका कप्तान रोहित पौडेल र अलराउन्डर दीपेन्द्रसिंह ऐरी भने श्रीलंका भ्रमणमा हुने छैनन् ।
नेपालले रोहितको कप्तानीमा श्रीलंका भ्रमणलाई १९ सदस्य टोली घोषणा गरेको छ । उक्त टोलीबाट नेपालले क्यानडा जाने अन्तिम टोली पनि घोषणा गर्नेछ । नेपाल क्रिकेट संघ(क्यान) का प्रवक्ता छुम्बी लामाका अनुसार दीपेन्द्र र रोहित टोलीसँगै क्यानडामा जोडिनेछन् ।
आईसीसी विश्वकप लिग–२ घरेलु टोली क्यानडासँगै, नेपाल र ओमानबीच प्रतिस्पर्धा हुनेछ । लिग २ पछि यी तीन टोलीबीच त्रिकोणात्मक टी–२० आई सिरिज पनि हुनेछ । नेपाली टोली आइतबार श्रीलंका भ्रमणमा जानेछ ।