अस्वभाविक रकम बैंक खातामा भेटिएको दाबी

जनकपुरधाम, भदौ १५ गते । मधेश प्रहरी कार्यालयका प्रमुख डिआईजी यज्ञविनोद पोखरेल विरुद्ध अस्वभाविक कारोबार भेटिएको भन्दै छानबीन शुरु गरेको छ ।

प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले पछिल्लो पटक रुपन्देही पुगेका बेला सबै प्रहरी अधिकारीको बैंक खाता जाँच भइरहेको र एकजना डीआईजी फस्न लागेको खुलासा गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीको भवन उदघाटन कार्यक्रममा बोल्दै आइजीपी कुँवरले प्रहरीमा आन्तरिक शुद्धीकरणको अभियान चलिरहेको बताएका थिए । उनले कुनै गलत काममा नलाग्न मातहतका प्रहरीलाई चेतावनी दिएका थिए । उनले एकजना डीआईजी फस्न लागेको बताएपछि प्रहरी संगठनभित्र हल्लीखल्ली नै मचेको छ ।

प्रहरी स्रोतका अनुसार आइजीपीले संकेत गरेका डीआईजी मधेस प्रदेशका डीआईजी यज्ञविनोद पोखरेल हुन् । उनको बैंक खातामा अस्वभाविक कारोबार भेटिएको भन्दै छानविन सुरु भएको उनको भनाई छ । भ्रष्टाचार र अनैतिक धन्दामा डीआइजीको नेटवर्कलाई साथ दिएको आशंकामा मधेसका ९ र कोशीका एकजना प्रहरीलाई वयानका लागि छानविन समितिले हेडक्वार्टरमा समेत तानेको छ ।

डीआईजी पोखरेलमाथि भइरहेको छानविनका क्रममा बिचौलियामार्फत लेनदेन गरेको भेटिएको प्रहरी हेडक्वार्टरको दाबी छ । पोखरेलले जितेन्द्र कर्ण नामक बिचौलियामार्फत तस्करीको लाइन खुलाएर पैसा असुलेको प्रमाण भेटिएको स्रोत दाबी छ । लेनदेन गरेको प्रमाण भेटिएपछि काठमाडौबाट मधेस झरेको प्रहरी टोलीले जनकपुरबाट बिचौलिया जितेन्द्र कर्णलाई अनुसन्धानका लागि पक्राउ गरेर काठमाडौ लगेको बुझिएको छ ।

यस सम्बन्धमा प्रतिक्रिया लिन खोज्दा डीआइजी पोखरेलसँग सम्पर्क हुन सकेन । मधेस प्रहरी कार्यालयमा सम्पर्क गर्दा आन्तरिक विषयमा बोल्न नमिल्ने जवाफ दिएका छन् ।

डीआईजी पोखरेलमाथि भइरहेको छानविनकै क्रममा नेपाल प्रहरी प्रधान कार्यालय उजुरी छानविन शाखाले मधेस प्रदेशका ९ र कोशी (भोजपुर)का एकजना सहित तानिएका प्रहरीहरुमा सीमा प्रहरी चौकी दुहबी, धनुषाका सई चन्द्रप्रसाद यादव, जिप्रका धनुषाका वरिष्ठ हवल्दार निरज कुमार साह, प्रहरी चौकी जनकुरधामका ७.सहायक हवल्दार अशोककुमार यादव, मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरधामका ८.सहायक हवल्दार ईश्वर अच्छामी रहेका छन् ।

यस्तै जिप्रका धनुषाका जवान सतेश लाल कायस्थ, प्रहरी चौकी कपिलेश्वर, धनुषाका सहायक हवल्दार मुकुन्द शर्मा, प्रहरी चौकी मोहवा, सप्तरीका असई उपेन्द्र प्रसाद यादव, जिप्रका बाराका हवल्दार बच्चेलाल यादव, इप्रका बालाङ्खा, भोजपुरका हवल्दार बृजेस मुखिया, इप्रका निजगढका हवल्दार शैलेन्द्रप्रसाद कुर्मी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको