जनकपुरधाम:जिल्ला अदालत धनुषाले सफाई दिएका हत्या मुद्दाका एक आरोपीलाई उच्च अदालत जनकपुरधामले जन्मकैदको सजाय सुनाएको छ ।

तत्कालीन जिल्ला न्यायाधीश परशुराम भट्टराईले हत्या मुद्दामा सफाइ दिएका प्रतिवादी पंकज चौधरी भन्ने दामोदर चौधरीलाई उच्च अदालत जनकपुरले जन्मकैदको सजाय सुनाएको छ । उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र न्यायाधीश गीताप्रसाद तिम्सिनाको संयुक्त इजलासले जन्मकैदको सजाय सुनाएको हो ।

चौधरीलाई जन्मकैदको सजाय गर्नुका साथै उनीबाट पीडितलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउन तथा २ हजार ८ सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गराउने फैसलामा उल्लेख रहेको शाखा अधिकृत विश्वराज कुइँकेलले जनाएका छन् ।

त्यसैगरी, चौधरीलाई हातहतियार तथा खरखजना मुद्दामा पनि २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना गरिएको छ । चौधरीले २०७६ कात्तिक ६ गते जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ का पेट्रोलपम्प सञ्चालक मनोज साहलाई गोली प्रहार गरी हत्या गरेका थिए । सोही मुद्दामा धनुषा जिल्ला अदालतका न्यायाधीश भट्टराईले २०७९ असार २१ मा सफाइ दिएका थिए ।

समाचार माध्यममा समाचार प्रकाशित भएपछि न्यायाधीश भट्टराईलाई तत्काल सर्वोच्च अदालतमा तानिएको थियो । सर्वोच्च तानिएको २१ महिनापछि भट्टराईले राजीनामा दिएका थिए । उनलाई प्रहरीले २ थान पेस्तोल र २२ राउन्ड गोलीसहित पक्राउ गरेको थियो । २०७६ मंसिर १ गते दर्ता भएको मुद्दामा न्यायाधीश भट्टराईले अभियोगको दाबी नपुग्ने भन्दै सफाइ दिएका थिए ।

यो मुद्दामा व्यापक आर्थिक चलखेल गरेको आरोप लागेको छ । २०७६ कात्तिक ६ गते जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ का पेट्रोल पम्प सञ्चालक मनोज साहको गोली प्रहार गरी हत्या गरिएको थियो । शिव आयल पेट्रोल पम्प सञ्चालन गरिरहेका साह आफूले पाउनुपर्ने पैसा उठाउन जाँदा जनकपुरधाम उपमहानगरपालिका– १४ घर भएका पंकज भनिने दामोदरप्रसाद चौधरीले गोली हानी हत्या गरेको भन्दै जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।

मनोज आफ्ना साथी अमित साहलाई लिएर पंकजको घरमा गएका थिए । पैसा माग्दा विवाद उत्पन्न भएपछि हात हालाहालको स्थिति आएको थियो । त्यसैक्रममा गोली प्रहार गरी मनोजको हत्या गरेको आरोप पंकजमाथि लागेको थियो । घटनास्थलमा पुगेको प्रहरीले छिमेकीको घरमा लुकिरहेको अवस्थामा घटनास्थलबाट अटोमेटिक पेस्तोल र ४ राउण्ड गोली तथा पंकजको झोलाबाट १ थान कटुवा पेस्तोल र त्यसको २ राउण्ड गोली तथा अटोमेटिक पेस्तोलको १५ राउण्ड गोली सहित दामोदरलाई पक्राउ गरेको थियो ।

पंकज चौधरी निर्माण व्यवसायी हुन् । ठेक्कापट्टाको काम गरिरहेका पंकजले मृतक साहले सञ्चालन गरेको पेट्रोल पम्पबाट उधारोमा डिजेल तथा पेट्रोल लिने गरेका थिए । त्यही उधारोको रकम ८ लाख रुपैयाँ भएको अवस्थामा पैसाको ताकेता गर्न जाँदा पंकजले उनको हत्या गरेको निष्कर्ष जिल्ला प्रहरी कार्यालय धनुषाले निकालेका थिए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको