
गत निर्वाचन झैँ धाँधली र पैसाको चलखेल बनाउने षडयन्त्र
जनकपुरधाम:जनकपुरधाम उद्योग वाणिज्य (जउवा) संघलाई फेरी तस्कर माफिया नै कब्जामा लिन खोजेको आरोप भदौ २९ गते नयाँ नेतृत्वका लागि हुने निर्वाचनका लागि उम्मेदवारी दिएका जितेन्द्र प्रसाद साहले आरोप लगाएका छन् ।
अध्यक्ष पदका उम्मेदवार रहेका साहले सोमवार एक पत्रकार सम्मेलन आयोजना गरी गत निर्वाचनमा धांधली र पैसाको चलखेल गरी आफूलाई हराइएको समेत आरोप लगाए । उनले भने फेरी त्यही तस्कर माफियाको समूह यसपटकको निर्वाचनमा पनि सक्रिया हुन थालेका छन् ।
उनले भने ‘जनकपुरधाम उद्योग वाणिज्य संघलाई राजनीतिक चंगुलबाट निकाल्न म जस्ता व्यापारीलाई नेतृत्वमा जिताउने विश्वास छ ।, मलाई जिताएर व्यापारीहरुलाई जिताउन चाह्नु हुन्छ वा राजनीतिक शक्तिलाई त्यो यहाँका व्यापारी साथीहरुको हातमा छ ।
जउवा संघको अध्यक्ष पदका ३ जनाको उम्मेदवारी पर्ने चर्चामा छ । अध्यक्ष पदकालागि निवर्तमान उपाध्यक्ष सुरेन्द्र भण्डारी, निर्वमान बरिष्ठ उपाध्यक्ष जितेन्द्र साह र वर्तमान वरिष्ठ उपाध्यक्ष मनिष रमण साहले उम्मेदवारी दिएका छन् । सुरेन्द्र होटेल व्यवसायी हुन भने जितेन्द्र अल्मुनियम र मनिष ज्वेलरीको व्यापार गर्दै आएका छन् ।
गत निर्वाचनमा जितेन्द्र साह अध्यक्ष पदमा जितेन्द्र महासेठसँग पराजित भएका थिए भने भण्डारी मनिषसँग वरिष्ठ उपाध्यक्ष पदमा पराजित भएका थिए । बरिष्ठ उपाध्यक्ष पदको मतदगणना भने पछिल्लो निर्वाचनमा विवादित बनेको थियो । यतिसम्म विवाद बढेको थियो दुई पक्षबिच लगभग हानाहानको स्थिति मात्रै नभई मुद्दा मामिलासम्म पुगेको थियो । फेरी यस पटक यी सुरेन्द्र र मनिषरमण आमने सामने हुँदा उद्योग वाणिज्य संघको यस पटकको निर्वाचन भने खुबै चर्चा पाईरहेको छ ।
बरिष्ठ उपाध्यक्ष पदको मतगणना जारी रहेको समयममा सोही पदका उम्मेदवार सुरेन्द्र भण्डारी पक्षधरले खसेकोभन्दा बढी मतपत्र फेला परेको भन्दै निर्वाचन आयोगले धाँधली गरेको आरोप लगाएका थिए । त्यो निर्वाचनको निर्वाचन समितिका संयोजक मनिषरमणकै भाई संतोष साह रहेकाले पनि धाँधली भएको आरोपको बल पुगेको थियो ।
भण्डारी पक्षले निर्वाचन समितिको विरोध मतगणना स्थल गोपाल धर्मशालामा टायर बालेर प्रदर्शन समेत गरेका थिए । विवाद सहित घोषणा गरिएको मतपरिणामबाट निर्वाचित पदाधिकारीहरुलाई चोरेर बन्द कोठा भित्र शपथ ग्रहण गराइएको थियो ।
पत्रकारहरुको जिज्ञासामा साहले भने इमान्दार र असल व्यापारीलाई नेतृत्व तहमा पुग्नबाट रोक्न तस्कर माफियाहरुले अध्यक्ष पदका उम्मेदवारहरुलाई लाखौलाख रुपैया लगानी गरिरहेका छन् । उनले थप्दै उम्मेदवारको एक रुपैयापनि खर्च हुदैन । मालसामान पक्राउने छोडाउने र तस्करी सञ्जाललाई कायम राख्ने शक्तिहरुले उम्मेदवारमा लगानी गर्दै आएको हो ।
उनले तस्कार माफिया मात्र होइन केही राजनीतिक शक्ति समेत प्रहरी र भन्सार कार्यालयको चाकडी गर्नेहरुलाई जिताउनमा लागेको छ । तर व्यापारीहरुको सहयोग र साथ आफूसँग भएकाले आफ्नो जीत सुनिश्चित रहेको दाबी गरे । उनले थप्दै भने यहाँका पिडीत उद्योगी व्यवसायीहरुको समस्या समाधान र व्यापार फस्टाउन जउवा संघको नेतृत्वमा तस्कर माफिया, प्रहरीको चाकर र राजनीतिक शक्तिको आर्शिवाद पाएका व्यक्ति होइन इमान्दार र संघर्षशील व्यवसायीको आवश्यकता छ । जीत हात जे भएपनि आफ्नो उम्मेदवारी अन्तिम पटकका लागि रहेका भन्दै व्यपारीको हितका लागि आफूलाई जिताउन आग्रह उनले गरे ।
मेरो उम्मेदवारी कायमै छ
पत्रकार सम्मेलनमा साहले भने आफूलाई कमजोर पार्न र मतदाता व्यापारीलाई दिगभ्रमित पार्न केही तस्कर माफिया गिरोहका उम्मेदवार नै आफूले उम्मेदवारी फिर्ता लिएको भन्ने हल्ला बजारमा फैलाएको छ । तर आफ्नो उम्मेदवारी कायम रहेको छ ।
उम्मेदवारी दिएका उम्मेदवारहरु प्रचार प्रसारमा व्यस्त रहेको समयमा साहले उम्मेदवारी फिर्ता लिएको हल्ला फैलाइएको थियो । उनले भने ‘मेरो उम्मेदवारीबाट हतास भएकाहरु मेरो विषयमा फैलाई रहेका छन्, निर्वाचनमा होमिनु अघि नै पराजय स्वीकार गरिसकेकाहरुको यस्तो भ्रामक हल्लाबाट म हल्लिनेबला होइन ।’
उनले मैले उम्मेदवारी फिर्ता लिएको भ्रामक हल्ला मात्रै नभई मेरा साथी मित्रहरुको हिम्मत तोड्नेगरी फोन कलहरु समेत आएको दावी गरे । साहले जनकपुरधाम उद्योग वाणिज्य संघ राजनीतिक शक्तिको हातमा हाइजैक भईरहेको दावी गरे यो पटक व्यापारीलाई जिताउन आग्रह गरे ।
मनोनयनको चर्को शुल्कको विरोध
जनकपुरधाम उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि हुन लागेको निर्वाचनका लागि चर्को मनोनयन शुल्क निर्धारण गरिएको छ । ती शुल्कको चौतर्फी विरोध भइरहेको छ । चर्को शुल्कले गर्दा मध्यमवर्गिय व्यापारी निर्वाचनमा भाग लिन नपाउने गरी पैसावाला तस्कर माफियाहरुले सिण्डिकेट लगाउन खोजेको भनी चौतर्फी विरोध भइरहेको छ ।
अध्यक्ष पदकालागि ५५ हजार रुपैयाँ, वरिष्ठ उपाध्यक्ष पदकालागि ५१ हजार रुपैयाँ र उपाध्यक्ष पदका लागि ५० हजार रुपैयाँ उम्मेदवारी शुल्क निर्धारण गरिएको छ । त्यस्तै महिला उपाध्यक्षका लागि ३० हजार रुपैयाँ, महासचिव पदका लागि ४५ हजार रुपैयाँ, सचिव पदका लागि ४० हजार रुपैयाँ र कोषाध्यक्ष पदका लागि ४० हजार रुपैयाँ निर्धारण गरिएको छ । एशोसिएट सदस्य पदकालागि ४० हजार रुपैयाँ, संगठित सदस्य पदका लागि ४० हजार रुपैयाँ, सम्बद्ध सदस्य पदका लागि पनि ४० हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
सबैला उद्योग बाणिज्य संघका अध्यक्ष समेत रहेका ब्रहमदेव यादव जनकपुरधाम उद्योग बाणिज्य संघको पनि सदस्य बन्ने ईच्छा सहित उम्मेदवार बन्न गाँउबाट जनकपुरधाम आएपनि शुल्क देखेर घर फर्किका थिए ।