जनकपुरधाम:जनकपुरधामका संचारकर्मी संतोष कर्ण चौरबाट कुश उखालेर ल्याएका छन् । आज बिहानै खुर्पी लिएर कुश लिन चौर तिर उनी पुगेका थिए । खेतको आलीमा जन्मेको कुश उखालेर उनले ल्याएका हुन् । संचारकर्मी कर्णसंगै बुवा नभएका उनका छिमेकी पनि कुश उखाल्न विहानै गएका थिए । उनीहरुलेपनि कुश ल्याएका छन । कुशे आमावश्याका दिन कुश चौर तिरवाट उखालेर ल्याउने मिथिलाञ्चलमा परम्परा रहेको छ ।

कुश उखाल्नेहरुको चौरतिर भीड लागेको थियो । घरघरबाट मानिसहरु कुश उखाल्न खेत, चौर तिर गएका थिए ।

बुवा स्वर्गीय भएकाहरु नै कुश ल्याउने गर्छन । भदौ आमावश्याका दिन कुश उखालेर ल्याउँदा वर्षभरी पूजामा प्रयोग गर्ने गरिन्छ पुरहित पेशासंग आवद्ध पण्डित दीगम्बर झा ‘दिनमणि’ले बताए । बुवाको मृत्यु भएको ३ वर्ष भएकाले आफू पहिलो चोटी कुश उखाल्न गएको जनकपुर ८ का मनोज पण्डितले वताए । कसरी कुश उखालिन्छ आफूलाई थाहै थिएन छिमेकीसंगै गएको र उहाँहरुले नै बताए अनुसार उखालेर आफूले ल्याएको उनले वताए ।

कतिले त्यतिकै कुश उखालिरहेका थिए भने केही मन्त्र पढेर कुश उखालिरहेको पनि देखियो । कुशकोपनि मन्त्र हुन्छ ? यससम्बन्धमा पण्डित दिनमणिले यो मन्त्र पढेर कुश उखाल्नुपर्छ भने –

कुशाग्रे वस्ते रूद्र: कुशमध्ये तु केशव:

कुशमूल वसेद् ब्रह्मा कुशन्मे देहि मेदिनि ।

कुशोऽसिकुशपुत्रोऽसि ब्रह्मणा निर्मिता पुरा,

देवपितृ हितार्थाय कुशमुत्पाट्याम्हम् ।।

हिन्दू धर्मावलम्बीका लागि कुश ज्यादै अनिवार्य एवं पवित्र वस्तु मानिन्छ । वैदिक ग्रन्थदेखि लिएर पौराणिक ग्रन्थमा समेत कुशको ठूलो महत्व बताइएको छ । आयुर्वेदिक उपचारमा पनि कुशको ठूलो महत्व छ । तराईदेखि पहाडसम्म पाइने यो वनस्पतिको जराबाट विविध उपचारकालागि आयुर्वेदिक औषधि बनाइन्छ । कुशको प्रयोग दाह, रक्तपित्त, तिर्खा, मृगौलाको पत्थरी आदि रोगको उपचारमा गर्न सकिन्छ । एकदमै तीखो र धारिलो पात हुने हुँदा यसलाई टिप्दा होशियारीपूर्वक टिप्नु पर्ने हुन्छ । पहिले पहिले परीक्षाको समयमा जो कुशलाई सहजतापूर्वक (घाउ नलगाई) वटुल्न सक्थ्यो उसलाई कुशल मानिन्थ्यो । हिन्दु धर्मावलम्वीहरू वर्षभर देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्रयाउँछन् । कुश एक वनस्पति हो । यसलाई विभिन्न धार्मिक कार्यमा प्रयोग गरिन्छ ।

व्राह्मणद्वारा पूजा गरी छेदन् गरेर जजमानहरू कहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । हिन्दूधर्ममा कुशलाई भगवान विष्णुको प्रतीक पनि मानिन्छ । यज्ञादी कर्म गरिँदा कुशको आहुति केतु ग्रहलाई वैदिक मन्त्रकासाथ दिने चलन छ । यज्ञ गरिँदा यज्ञकुण्डको चारैतिर कुश ओछ्याइन्छ र रात्रिकालमा शुद्ध पानीमा भिजाएर राखेको कुशको पानीको प्रयोग वीणादि कलश स्थापना गरिँदा कलशमा राख्ने चलन पनि छ ।

देवी देवताको पूजामा अभिषेक, प्राण प्रतिष्ठा, प्रायश्चित, दशविध स्नान आदि गरिँदा कुश मिश्रित जल नै प्रयोग गरिन्छ । कुशासनमा बसेर पूजा गर्नु, कुशको औंठी देव कार्यमा साहिँली औंलामा र पितृकार्यमा चोर औंलामा लगाउनु, कुशलाई कम्मरमा सिउरिनु धार्मिक विधी हुन् । यद्यपि वैज्ञानिक दृष्टिकोणबाट पनि यसो गरिनु लाभदायक मानिएको छ । भनिन्छ कुशले बनेको गुन्द्री वा चटकीमा नियमित बसाइले उच्च रक्तचापका विरामीलाई लाभ हुन्छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको