जनकपुरधाम:मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतीश सिँहले संघीय सरकारको विभेदका कारण मधेशको सामुदायिक शिक्षा कमजोर भएको बताएका छन् ।

मङ्गलबार जनकपुरधाम उपमहानगरपालिका वडा नं. ८ स्थित श्री याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय परिसरमा रहेको नवनिर्मित छात्रवास “याज्ञवल्क्य सदन” को उद्घाटन गर्दै मुख्यमन्त्री सिँहले मधेश प्रदेशमा विद्यार्थी र शिक्षक अनुपातमा व्यवस्थापनमा विभेद भएकाले पनि सामुदायिक शिक्षा कमजोर भएको बताए ।

उनले सत्तरीभन्दा बढी विद्यार्थीका लागि एक शिक्षक र आवश्यक विषयगत शिक्षक अभावले सामुदायिक विद्यालयको शिक्षणमा प्रतिकूल प्रभाव परिरहेको औंल्याए । प्लस टु सम्मको व्यवस्थापन अधिकार स्थानीय तहलाई दिइए पनि पालिकाहरू विद्यार्थी–शिक्षक अनुपात मिलाउन चुकेको बताए । उनले पालिकाले प्राविधिक शिक्षा सबै क्षेत्रमा उपयुक्त हुने हुँदा प्राविधिक शिक्षालाई बढावा दिनुपर्ने बताएको छ । विद्यार्थी–शिक्षक अनुपात व्यवस्थापनमा कतिपय ठाउँ र अवस्थामा व्यक्तिगत स्वार्थपोषण गरिरहेको सुनाए ।

मुख्यमन्त्री सिँहले विद्यालयमा भौतिक रूपमा पठनपाठन गर्ने छात्रछात्रा नभए पनि कागजमा विद्यार्थीको सँख्या देखाएर छसात जना शिक्षक व्यवस्थापन गरिएको प्रति असन्तुष्टि व्यक्त गर्दै विद्यार्थी अनुपातमा शिक्षक व्यवस्था हुनुपर्ने बताए ।

उनले प्लस टुसम्मको पढाइमा प्रदेश सरकारको भूमिका संकुचित तुल्याई संघ र स्थानीय तहमा अधिकार दिइँदा त्यस्तो अवस्था आएको उल्लेख गरे । उनले भने, ‘ प्रदेश सरकार विद्यालयको पूर्वाधार विकासमा मात्र योगदान गर्न सकिरहेको छ । शिक्षकको सँख्या बढाउन नसक्नेहरूले प्रदेशलाई अधिकार दिनुपर्छ ।’ उनले प्लसटुसम्मको शिक्षासम्बन्धी अधिकार प्रदेश सरकारमा ल्याउन कानुनी बाटो खोजिने पनि बताए ।

शिक्षाबिना विकासकार्य हुन नसक्ने भन्दै उनले प्रदेशमा व्यावसायिक तथा सीपमूलक प्राविधिक शिक्षामा जोड दिन सकिए आर्थिक रूपमा आत्मनिर्भर जनशक्ति विकास हुने बताए । मुख्यमन्त्री सिँहले प्रदेशको शैक्षिक स्तर उकास्न प्रदेश सरकारले प्रादेशिक शिक्षा नीति ल्याउने तयारी गरिरहेको बताए ।

उनले याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय ज्ञानकूपमा सँस्कृत, अँग्रेजी र नेपाली तीनवटा भाषिक माध्यममा तीनवटा फ्याक्लटीको पढाइ तीन सिफ्टमा भइरहेको र तिनमा सत्ताइस सयको हाराहारीमा विद्यार्थी पठनपाठन गरिरहेको सुखद भएको बताए ।

उनले विद्यालयमा शैक्षिक पार्क निर्माण तथा खेलकूद पार्क निर्माणजस्ता कार्य गरिने बताए । प्रदेशका केही जिल्लामा गरिने शैक्षिक पार्क निर्माणक्रममा ज्ञानकूपलाई पनि एउटा स्थलका रूपमा पहिचान गरिएको बताउँदै उनले धनुषा जिल्ला र वरपरका छात्रछात्रालाई नयाँ विधिबाट पढाइ गर्ने शैक्षिक पार्क निर्माणका लागि इस्टिमेट डिजाइन जस्ता प्राविधिक कार्य यथाशीघ्र सम्पन्न गरिने जानकारी दिए ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ का अध्यक्ष दिनेशकुमार सिँहको अध्यक्षतामा भएको कार्यक्रममा मधेश प्रदेशकी शिक्षा तथा सँस्कृति मन्त्री रानी शर्मा, विद्यालयका प्रधानाध्यापक सञ्जयकुमार झालगायतका वक्ताले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको