
जनकपुरधाम:धनुषाको शहीदनगर नगरपालिका डुमरियास्थित अलपत्र अवस्थामा रहेका शहीद सुर्यनाथ रान स्मृति अस्पताल ४५ दिनभित्र संचालनमा ल्याइने मधेश सरकारका मुख्यमन्त्री सतिश सिंहले प्रतिबद्धता जनाएका छन् ।
धनुषा जिल्लाको क्षेत्र नं.२ मा कयौं वर्ष पहिले निर्माण भएर अलपत्र अवस्थामा रहेका ती अस्पतालको स्थलगत भ्रमणको क्रममा मुख्यमन्त्री सिंहले संघ सरकार सकेन, अब यो अस्पताल प्रदेश सरकारले चलाउने छ र ४५ दिनभित्र संचालनमा ल्याइने भने ।
निरीक्षण क्रममा अस्पताल संचालनका लागि आवश्यक उपकरण र जनशक्ति ४५ दिन भित्र मै उपलब्ध गराउन सम्बन्धित मन्त्रालय र निकायलाई निर्देशन समेत दिए ।
मधेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सुर्यनाथ रान अस्पतालसहित प्रदेशका ४ वटा अस्पताल संचालनमा ल्याउने प्रक्रिया अघि बढाएको छ । मन्त्रालयले गएको भदौ १४ गते पर्साको पोखरिस्थित पोखरिया अस्पताल, सप्तरी भारदहस्थित शहीद राजीव रामकृष्ण प्रादेशिक अस्पताल, शहीदनगर डुमरिया स्थित सुर्यनाथ रान स्मृति अस्पताल र सर्लाही धनकौल स्थित वैजनाथ आमा तथा बाल अस्पताल संचालनका लागि सम्बन्धित पालिकालाई परिपत्र गरेका छन् ।