जनकपुरधाम:प्रविधिको विकाससँग आफ्नो सेवामा महोत्तरीको मटिहानी नगरपालिकाले फड्को मारेको छ । मंगलवारदेखि मटिहानी नगरपालिकाले नागरिकताको प्रमाणपत्र लिनका लागि अनलाइनमार्फत् सिफारिस सेवा सुरु गरेको छ ।

अबदेखि सो नगरपालिकाको प्रत्येक वडा कार्यालय मार्फत अनलाईन सिफारिस शुरु भएको हो । मंगलवार मटिहानी नगरपालिकाको वडा नम्बर ५ की रिंकु कुमारी र ६ की सकिला खातुनलाई सिफारिस पत्र हस्तान्तरण गरी नगरपालिकाका मेयर हरि मण्डलले शुभारम्भ गरेका हुन् ।

केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली (सीसीआइएमएस) को माध्यमबाट अनलाइन सिफारिस सुरु गरिएको मेयर मण्डलले बताए । अनलाइन प्रणाली सुरु भएपछि अभिलेखीकरणमा सहजता, सेवाप्रवाहमा छरितो र प्रविधीमैत्री सेवा प्रवाह हुने, झुटा र किर्ते विवरण भरेर नागरिकता लिने कार्य अन्त्य हुने उनले बताए ।

अनलाइनबाट नागरिकता सिफारिस गर्दा अनलाइनबाट अनुसूचि अनुसार सम्पूर्ण विवरण भरेर सेवाग्राहीको जन्मदर्ता, बाबुआमाको नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्र, बसाइँसराइ प्रमाणपत्र, पति÷पत्नीको नागरिकतालगायतका प्रमाणपत्रहरुको प्रतिलिपि जिल्ला प्रशासन कार्यालयमा पठाइनेछ । यसरी अनलाइन इन्ट्री भएपछि एउटै व्यक्तिको विवरण दुई पटक प्रविष्ट नहुने हुँदा दोहोरो नागरिकता अन्त्य हुने उनको भनाइ छ ।

यो प्रणालीमा निबेदकको माग अनुसार विवरण प्रविष्ट गरेपछि सिष्टमबाटै सिफारिस तयार हुने र सिफारिस प्रिन्ट गरेर वडा अध्यक्षले सही गरेर छाप लगाएपछि सिष्टममा अपललोड हुनेछ । भेरीफिकेशन लेटर प्रिन्टसहित प्रविष्टि गरिएको कागजात लिएर जिल्ला प्रशासन कार्यालयमा गएपछि सम्बन्धित अधिकारीले चेकजाँच गरी तुरुन्त नागरिकता उपलब्ध गराउनेछ । यसले सेवाग्राहीको परेशानी र कार्यालयको समय समेत बचत हुने उनले बताए ।

गत ३० फागुनमा गृह मन्त्रालयको भएको निर्णयअनुसार स्थानीय तहहरुले अनलाइन प्रणालीमार्फत नागरिकताको सिफारिस दिन सुरु गर्न लागेको हो । सबै कुरा अनलाइनबाट हुने भएकाले व्यक्तिगत विवरणको अभिलेख व्यवस्थापनमा समेत अनलाइन नागरिकता सिफारिसले प्रभावकारी भूमिका खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको