
जनकपुरधाम:देशको वर्तमान अर्थ व्यवस्थाले संघीयता धान्न चुनौती रहेको नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बताएका छन् ।
नेपाली काँग्रेस धनुषाको पार्टी कार्यालय बिपी भवनमा आयोजित पत्रकार भेटघाटमा उनले भने जुन रुपले प्रदेश र स्थानीय तहको संघीय संरचना छ । देशको आफ्नो श्रोत साधन नभएकाले संघीयता धान्न निकै नै चुनौती छ । यसमा कर्मचारी र राजनीतिकर्मी दुवै आ आफ्ना दायित्व बुझेर अनावश्यक खर्च कटौती गरे मात्र सम्भव हुन सक्छ ।
पूर्व अर्थमन्त्री समेत रहेका महतले थप्दै भने संघीय संरचना निर्माण भइरहेकै बेला मैले अर्थतन्त्रको हिसाबले यत्रो ठूलो संघीय संरचना देशले धान्न नसक्ने भनेका थिए । तर देशको राजनीतिक परिस्थिति अनुसार कहाँ के कुरा भएर तयार पारियो त्यो सबैलाई थाहा नै छ । अहिलेको संघीय संरचनाले संघीयता कार्यान्वयनमा ल्याउन कानून निर्माण र खर्च कटौतीसहित आफ्नो श्रोत साधन जुटाउन आवश्यक छ ।
पत्रकारहरुको जिज्ञासामा प्रवक्ता महतले सरकार र पार्टीको नेतृत्व युवावर्गमा हस्तान्तरण गर्नुपर्ने युवाहरुको जुन माग छ त्यो निरर्थक रहेको बताए । उनले भने जो योग्य हुन्छ त्यसले नेतृत्व पाउन सक्छ, यसमा पुस्ताको आवश्यकता नै छैन । गिरिजाबाबु ८७ वर्षको उमेरसम्म पार्टी र सरकारको नेतृत्व सम्हाल्नु भो । शेरबहादुर देउवाजी अहिले सक्षम हुनु हुन्छ ।
जहाँसम्म गठबन्धनको ७ बुँदे सहमति अनुसार सत्ता हस्तान्तरणको कुरा हो । त्यसमा २ वर्ष एमालेको केपी शर्मा ओली र अन्तिम चुनावी सरकारको नेतृत्व शेरबहादुर देउवाजीले गर्ने प्रष्टै सहमति भएको हो । यसमा युवापुस्तामा हस्तान्तरण गर्ने भन्ने कुरै छैन । सहमति अनुसार नै आउंदो चुनावी सरकारको नेतृत्व शेरबहादुर देउवाजीले गर्नुहुन्छ र यो गठबन्धनको सरकार २०८४ सम्म जानेछ ।
उनले पार्टीका सभापति शेर बहादुर देउवामा रहेको संयोजनकारी भूमिका अतुलनीय रहनुका साथै र थोरै तथा विषय वस्तुमा केन्द्रित भएर बोल्ने बानीका कारण पार्टीभित्र सैद्धान्तिक रुपमा कुनै विवाद नभएको र पार्टी ठिक ढङ्गले चलेको दाबी गरे ।
सो भेटघाट कार्यक्रममा नेपाली काँग्रेस धनुषाका सभापति योगेन्द्र पञ्जियार, नेपाली काँग्रेस महोत्तरीका सभापति नागेन्द्र प्रसाद यादव, पुराना नेता शिवधारी यादव, जिउँदो सहिद ललन चौधरी, युवा नेता प्रवेश चौधरी, नेपाली काँग्रेस धनुषाका उपसभापति गणेश झा सहितका नेताहरू उपस्थित रहनुभएको थियो ।
यसअघि विपी चिन्तन प्रतिष्ठानले आज जनकपुरधाममा आयोजना गरेको “नेपालमा कृषि क्रान्ति: समस्या र चुनौती” विषयक विचार गोष्ठीमा उनले देशको कूल जनसङ्ख्याको दुई तिहाइ जनसङ्ख्या अहिले पनि कृषि लागेको तर प्रतिफल कम रहेकाले कृषि क्षेत्रमा उत्पादन तथा उत्पादकत्व बढाउने गरि काम गर्न जरुरी रहेको बताएका थिए ।
मुलुकको अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान बढाउनका लागि कृषिको यान्त्रिकीकरण, विशिष्टीकरण गर्दै मागमा आधारित कृषि उत्पादनमा जोड दिन जरुरी रहेको डा. महतले बताए । उनले नेपाल सरकारले मुलुकमा सिँचाइ सुविधाका लागि ठूला ठूला सिँचाइ योजनाहरूको निर्माण गरिरहेको बताउँदै यसले कृषि क्षेत्रमा क्रान्ति ल्याएर कृषि उत्पादनमा ठूलो योगदान पुग्ने आशा व्यक्त गरे ।
नेपाली काँग्रेस मधेश प्रदेशका सभापति एवं पार्टीका संसदीय दलका नेता कृष्ण प्रसाद यादवले मधेश प्रदेश कृषिमा आधारित प्रदेश भएकाले कृषि क्षेत्रको विकासका लागि थप लगानी गर्नका लागि आग्रह गरे । मधेश प्रदेशका श्रम तथा यातायातमन्त्री कौशल किशोर रायले कृषि क्षेत्रमा बढ्दै गएको परनिर्भरता घटाउन तथा कृषि उत्पादन बढाउन कृषि क्षेत्रमा लगानी बढाउन जरुरी रहेको बताए ।