जनकपुरधाम:सत्तारुढ दल नेकपा एमाले तत्काल वाम गठबन्धन, मोर्चा वा वाम एकता नगर्ने रणनीतिक ‘मुभ’मा लागेको छ । नेपाली कांग्रेसको सहयोगमा सरकारको नेतृत्व गरिरहेको एमालेले आजीवन वाम एकता वा मोर्चाको विपक्षमा भने नउभिएको दाबी गरेको छ ।

एमालेकै कतिपय नेताले वाम गठबन्धन वा पार्टी एकता गरेर अघि बढ्नुपर्ने आशय व्यक्त गरिरहेका बेला अध्यक्ष ओलीले वाम गठबन्धन, मोर्चा गठन वा पार्टी एकताजस्ता प्रसङ्गमा ‘साइरन’ फुक्न जरुरी नभएको प्रस्ट पारे । उनले नेताहरूलाई त्यतातर्फ नअल्झिन कडा निर्देशनसमेत दिएका छन् ।

बुधबार सुरु भएर बिहीबार सकिएको एमाले पोलिटब्यूरो बैठकमा बोल्ने सदस्यहरूले वाम गठबन्धनको चर्चासमेत हुने गरेको बताएपछि अध्यक्ष ओलीले जवाफ दिँदै तत्काल वाम गठबन्धन ‘जरुरी र सम्भव’ दुवै नभएको प्रस्ट्याएका हुन् ।

असार १७ गते कांग्रेस र एमालेबिच भएको ७ बुँदे सहमतिको जगमा अध्यक्ष ओली आलोपालो प्रणाली अनुसार सरकारको नेतृत्व गरिरहेका छन् । तर सहमतिअनुसार ओलीले प्रधानमन्त्री पद सहजै छाड्दैनन् कि भन्ने संशय सत्ता सहयात्री दलका नेताहरूले प्रकट गरिरहेका समयमा पार्टी कमिटी बैठकमै वाम गठबन्धनलाई उनले अस्वीकार गरेका हुन् ।

वामपन्थीको नाममा मोर्चा बन्ने सम्भावनाबारे कतिपय सदस्यले बैठकमा चासो प्रकट गरेपछि अध्यक्ष ओलीले त्यसलाई प्रस्ट्याउँदै गठबन्धन वा मोर्चाको कुनै सम्भावना नरहेको निष्कर्ष निकालेको स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमको भनाइ छ ।

‘एउटासँग लभ गर्ने अर्कोसँग लगनगाँठो कस्ने प्रवृत्ति भएकाहरूसँग वाम एकता हुन्छ भनेर साइरन फुकेर न वल्लो घाट न पल्लो तीरतर्फ एमाले लाग्दैन’, गौतमले भने, ‘अहिलेको तत्कालीन अवस्थामा कुनै किसिमको वाममोर्चा, वाम गठबन्धन, कुनै किसिमको तालमेल हुँदैन, एमालेले त्यो गर्दैन र सम्भव पनि छैन ।’

मोर्चामै सामेल नहुने भनेपछि वाम एकताको कुरा परको कुरा रहेको गौतमको भनाइ छ । ‘तर यसको अर्थ आजीवन हुँदैन भन्ने होइन’, उनले भने ।

गौतमका अनुसार पार्टीको नीति वर्गीय पक्षधरतामा बढी केन्द्रित, पार्टी निर्माण र विस्तारसँगसँगै वस्तुगत अनुगमन र मूल्याङ्कनका आधारमा अघि बढ्ने निष्कर्ष निकालिएको छ । ‘मंसिरको उपनिर्वाचनमै एमाले कसरी प्रस्तुत हुन्छ, थाहा पाउनुहुनेछ’, गौतमको भनाइ छ ।

अर्का पोलिटब्यूरो सदस्य विशाल भट्टराईले एमालेले यसअघि नै एउटा मोडलमा कम्युनिस्ट पार्टीलाई एकताबद्ध बनाउने अभ्यासमा गइसके पनि सफल हुन नसकेको उदाहरणबाट पाठ सिकेर हतारमा वाम गठबन्धन वा मोर्चाको पक्षमा नगएको बताए ।

‘०७४ पछि एकपटक पार्टी एकता नै ग¥यौँ । तर त्यो प्रयास सम्पूर्ण रूपले विफल भयो र कम्युनिस्टहरूलाई एकतावद्ध बनाएर ल्याउन सकेनौँ’, भट्टराईले भने, ‘त्यो असफलताबाट हामीले पाठ सिक्यौँ । त्यो पाठ भनेको– मान्छेमात्र भेला गरेर हुँदैनरहेछ । विचार, सिद्धान्त र दृष्टिकोणप्रति प्रतिवद्ध मान्छेहरू भएको पार्टी नै बलशाली हुनेरहेछ ।’

जमातले होइन, विचार नै महत्त्वपूर्ण हुने नेकपा विभाजनबाट पुष्टि भएको भट्टराईले बताए । ‘त्यसबेलाको स्वार्थका कारण एकतापछि पनि पार्टीलाई ठुलो क्षति भयो । त्यस अनुभवका आधारमा नेताहरूको टाउको जोडेर गर्ने एकता नभइ तलतलबाट गरिने एकताचाहिँ बलशाली हुन्छ भनेर एमालेले अहिले आफ्नै पार्टीलाई बलियो बनाउनुपर्छ भनेको हो’, उनले भने ।

यो आफ्नै अनुभवजन्य कुरा हुनका साथै ‘मिसन ०८४’ लाई सफल पार्ने एक हिसाबको प्रयास पनि रहेको भट्टराईले बताए । उनले भने, ‘किनभने अरुका खुट्टामा उभिएर गरेको प्रयास विफल हुनेरहेछ भन्ने दृष्टान्त बिर्सन मिल्दैन ।’

एमालेले पोलिटब्यूरो बैठकको आयोजना गर्नुको मुख्य कारण थियो– एक वर्षे कार्ययोजना पारित गर्ने । सोही अनुसार महासचिव शंकर पोखरेलले पेस गरेको ‘राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजना’मा केन्द्रित रहेर सदस्यहरूले आफ्नो राय राखेका थिए । ती रायलाई समेत समेट्दै कार्ययोजनालाई अन्तिम रूप दिन पुन: सचिवालयलाई नै पोलिटब्यूरोले जिम्मेवारी फर्काएको छ ।

उक्त प्रस्तावको मस्यौदा सचिवालयले नै तयार पारेको थियो । यसअर्थमा पोलिटब्यूरो बैठकमार्फत एमालेले मुख्य तीन वटा सन्देश प्रवाह गर्न खोजेको एक नेताले बताए ।

पहिलो : कांग्रेससँगको सहकार्य जोगाउन वामपन्थी गठबन्धनको विपक्षमा आवाज बुलन्द पार्ने ।

दोस्रो : पार्टीभित्र बढेको अनुशासनहीन र अराजक गतिविधि नियन्त्रण गर्ने ।

तेस्रो : एमालेलाई आगामी ०८४ को निर्वाचनमार्फत निर्णायक बलियो राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्ने ।

मुख्य तीन सन्देश प्रवाह गर्न सकिए कांग्रेस–एमालेबिचको सत्ता सहकार्य टिकाउ हुने एमालेको ठहर छ । ‘अहिले कांग्रेसका केही नेता र एमालेकै कतिपय नेता कार्यकर्ताले दुई ठुला पार्टीबिचको सहकार्यप्रति आशङ्काको दृष्टिकोणले हेरेका छन्’, एक पोलिटब्यूरो सदस्यले भने, ‘यदि यो आशङ्का बढ्दै गयो भने अर्को अवस्था पनि आउन सक्छ । त्यसका लागि सत्ता सहयात्री दलका नेता कार्यकर्ताको समेत विश्वास जित्न तत्कालीन रणनीतिक मुभअन्तर्गत एमाले तत्काल गठबन्धनको विपक्षमा उभिएको हो ।’

बैठकमा ओलीले अहिले पनि एमाले राष्ट्रिय शक्तिका रूपमा रहेको तर निर्णायक शक्ति नबनेसम्म परिणाम दिन नसकिने धारणा राखेका थिए । ‘त्यो शक्ति अभावमा एमालेले चाहेको निर्णय अहिले हुन सक्ने स्थिति छैन । त्यसैले अबको ध्यान त्यस दिशामा केन्द्रित गर्नुपर्छ र ०८४ मा एक्लै चुनाव लडेर बहुमत ल्याउने कोसिस गर्नुपर्छ’, बैठकमा ओलीले भनेका थिए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको