जनकपुरधाम:कर्मचारी समायोजनका क्रममा स्वास्थ्य क्षेत्रका कर्मचारीहरुको व्यवस्थापनमा देखिएको समस्या समाधान हुने भएको छ ।
मन्त्रिपरिषदले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट आएको प्रस्ताव स्वीकृत गरेसँगै स्वास्थ्य क्षेत्रमा सयौंको संख्यामा समस्यामा परेका स्वास्थ्यकर्मीको व्यवस्थापन हुने भएको हो ।
स्वास्थ्य मन्त्रालयले कर्मचारी समायोजन ऐन २०७५ को दफा २८ अनुसार स्वास्थ्यकर्मी व्यवस्थापनलाई थप प्रभावकारी बनाउन ८ बुँदे प्रस्ताव तयार पारेको थियो ।
उक्त प्रस्तावलाई मन्त्रिपरिषदले पारित गर्दै संघ, प्रदेश र स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीको समायोजनसम्बन्धी प्रक्रिया अघि बढाउन अनुमति प्रदान गरेको हो ।
समायोजनको क्रममा फाजिलमा रहेका, दरबन्दी नभएका तहमा समायोजन भएका तथा दरबन्दीभन्दा बढी समायोजन भएका स्वास्थ्यकर्मीहरूलाई यस आर्थिक वर्षभित्र सम्बन्धित प्रदेश वा स्थानीय तहको रिक्त दरबन्दीमा समायोजन गर्न मन्त्रिपरिषदले स्वीकृत दिएको छ ।
मन्त्रिपरिषदले स्वीकृति दिएसँगै स्वास्थ्य मन्त्रालयले सोही अनुसार पत्र जारी गर्ने निर्णय गरेको छ । केही दिनभित्र पत्र जारी गर्ने तयारी मन्त्रालयले गरेको छ ।
संघको पुलमा समायोजन भएका चिकित्सक र मेडिकल बोर्डको सिफारिसमा संघ पुलमा समायोजन भएका स्वास्थ्यकर्मीहरूलाई पनि प्राथमिकता दिँदै रिक्त दरबन्दीमा व्यवस्थापन गर्ने विषयमा पनि मन्त्रिपरिषदले स्वीकृति दिएको छ ।
यो निर्णयले वर्षौदेखि समस्यामा परेका कर्मचारीको समस्या समाधान हुने छ भने स्वास्थ्य सेवा क्षेत्रको सुधारका साथै स्वास्थ्यकर्मीहरूको व्यवस्थापनमा थप स्पष्टता ल्याउने मन्त्रालयको भनाइ छ ।