काठमाडौँ:लेबनानमा लडाकु समूह हेजबुल्लाहका सदस्यहरूले सञ्चारका लागि प्रयोग गर्ने हाते पेजरहरू विस्फोट हुँदा ९ जनाको मृत्यु भएको छ । घटनामा २ हजार ८ सयजना घाइते छन् । समाचारसंस्था एएफपीका अनुसार ज्यान गुमाउनेमा हेजबुल्लाह सांसद अलि अमरका छोरा र अर्का एक नेताकी १० वर्षीया छोरी छन् ।
बीबीसीका अनुसार लेबनानका विभिन्न स्थानमा एकैसाथ ती उपकरणहरू पड्किएका थिए । एउटा विस्फोटनमा बेरुतमा कार्यरत इरानी राजदूत पनि घाइते भएका छन् । लेबनानका लागि इरानी राजदूतकी पत्नी मोज्ताबा अमानीले आफ्ना पति सामान्य घाइते भएका र उनको उपचार भइरहेको बताएकी छन् ।
हेजबुल्लाहले ‘आफ्ना विभिन्न इकाई र संस्थाका कर्मचारीसँग रहेका पेजर विस्फोटका कारण ८ जना लडाकुको मृत्यु भएको पुष्टी गरेको छ । घाइते भएकमाध्ये अधिकांशको कम्मर, अनुहार, आँखा र हातमा चोट लागेको बताइएको छ । हिज्बुल्लाहलाई इरानले समर्थन र सहयोग गर्दै आएको छ ।
हिजबुल्लाहले विस्फोटका लागि इजरायल जिम्मेवार रहेको बताउँदै घटनाको बदला लिने चेतावनी दिएको छ । पेजर विस्फोटनको घटनाबारे इजरायली सेनाले भने प्रतिक्रिया दिन अस्वीकार गरेको छ । तर सीएनएनले उक्त आक्रमण इजरायली गुप्तचर निकाय र सेनाले संयुक्त रुपमा गरेका जनाएको छ ।
पेजर विस्फोट हुनुभन्दा केही घण्टाअघि इजरायलले विस्थापित भएका आफ्ना बासिन्दालाई देशको उत्तरी भागमा सुरक्षित रूपमा फिर्ता गर्नका लागि हिजबुल्लाहको आक्रमण रोक्नुपर्ने बताएको थियो । हेजबुल्लाहले मोबाइल फोन ‘ह्याक’ हुने र त्यसमा गरिएको कुराकानी ‘ट्र¥याक’ हुने जोखिम रहेको भन्दै पेजर प्रयोग गर्दै आएको छ ।