जनकपुरधाम:जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १२ कुवामा इन्द्रपूजा मेलाको अवसरमा आयोजना गरिएको आर्केस्ट्रा कार्यक्रम रोक्न पुगेका प्रहरी र स्थानीयबीच झडप भएको छ ।

साँझ ६ बजेको समयमा मेलामा भारत बिहारबाट मगाइएको ओरकेष्ट्रा नाचलाई धनुषा प्रहरीले रोकेपछि झडप भएको हो । आर्केस्ट्रा कार्यक्रम गर्ने रोकेपछि प्रहरीमाथि स्थानीय युवाहरुले ढुंगामुढा गरेपछि प्रतिकारमा प्रहरीले लाठीचार्ज गर्न खोजेपछि झडप भएको हो । अवस्था तनावग्रस्त बनेपछि प्रहरीले आश्रुग्यास समेत प्रहार गरेका छन् ।

नाच नाच्न तयार भएको अवस्था हनुमाननगर प्रहरी चौकीबाट खटेको प्रहरीले जिल्ला प्रहरीको निर्देशन भन्दै रोकेपछि स्थानीय युवकहरुले कुवास्थित सडक जाम गरेको थियो । सवारी साधनहरु जाम हुन थालेपछि जिल्ला प्रहरी कार्यालय धनुषाले तुरुन्तै अतिरिक्त फोर्स पठाएर उनीहरुलाई भगाउँदै सडक खुलाएको थियो ।

स्थानीयहरु उग्रता प्रदर्शन गर्न थालेपछि प्रहरीले २ राउण्ड आश्रुग्याँस प्रहार गरेको हो । भीडलाई तितरबितर पार्न र स्थिति नियन्त्रणको लागि आश्रुग्याँस प्रहार गर्नुपरेको धनुषाका प्रहरी प्रवक्ता रञ्जन अवाले जानकारी दिएका । युवाहरुले टायर बालेर प्रदर्शन गरेपछि सो ठाउँसहित क्याम्पसचोक, एयरपोर्ट एरियामा भारी सँख्यामा प्रहरी परिचालन गरिएको थियो ।

आर्केस्ट्रा कार्यक्रम गर्ने ५ महिला र दुई पुरुषलाई नियन्त्रणमा लिएको डिएसपी अवाले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयबाट अनुमती नलिई कार्यक्रम गर्न खोजेपछि प्रहरीले रोकेको उनको भनाई छ । आँश्रुग्यास लागेर एक मोटरसाईकल चालक समेत घाईते भएको हो । गन्तव्यतर्फ जाँदै गर्दा प्रहरीले छोडेको आश्रुँग्यास लागेर उनको मोटरसाईकल अनियन्त्रित भएर एक बसमा ठोक्किएको थियो । उनी सामान्य घाईते भएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको