जनकपुरधाम:नेपाल रेलवे माध्यमिक विद्यालयको व्यवस्थापन समिति उच्च अदालत वीरगञ्जले खारेज गरेको छ । केही दिनअघि वीरगञ्ज महानगरपालिकाले खारेज गर्ने निर्णयलाई नै उच्च अदालतले सदर गरेको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजय बाबु रौनियारसहितले महानगरको निर्णयविरुद्ध अन्तरिम आदेश माग गर्दै दायर गरेको रिट खारेज गरिएको हो । महानगरले विद्यालय व्यवस्थापन समिति विघटन गर्ने निर्णय गत असार २ गते गरेको थियो ।

नगर शिक्षा समितिको निर्णयअनुसार, समितिलाई सुधारका लागि मौका दिँदा चित्तबुझ्दो स्पष्टीकरण नआएको भन्दै समिति विघटन गरिएको थियो । व्यवस्थापन समितिका अध्यक्ष विजय बाबु रौनियारले उक्त निर्णयलाई चुनौती दिँदै भदौ २३ गते उच्च अदालतमा अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका थिए ।

उक्त मुद्धामा उच्च अदालतका न्यायाधीश दुर्गा बहादुर विश्वकर्मा र नेत्र प्रकाश आचार्यको संयुक्त इजलासले महानगरपालिकाको निर्णयलाई नियमसंगत ठहर गर्दै अन्तरिम आदेश जारी नगरिने निर्णय सुनाएको हो ।

महानगरका कानुन अधिकृत इश्वर बरालका अनुसार महानगरको तर्फबाट अधिवक्ताहरु कमलमोहन पोखरेल, प्रमोद प्रसाद साह र विरेन्द्र प्रसाद यादवले बहस गरेका थिए भने निवेदकको तर्फबाट अधिवक्ताहरु विनय कुमार मल्लिक, राकेश कुमार मल्लिक र विनोद कुमार मल्लिकले बहस गरेका थिए । महानगरपालिकाले विद्यालय व्यवस्थापन समितिले विद्यालयको सही व्यवस्थापन गर्न नसकेको र कार्य सन्तोषजनक नभएको आरोपमा समिति विघटन गरेको हो ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको