जनकपुरधाम : रौतहटको राजपुर नगरपालिकाको दुई वटा वडामा हैजा रोग फैलिएको छ । पछिल्लो तिन दिनमा राजपुर नगरपालिकाको वडा नम्बर ३ र ४ मा हैजाको लक्षणसहितका बिरामीको संख्या ६२ पुगेको छ ।

३ असोजदेखि देखापरेको झाडापाखाला हैजाको लक्षण देखिएका ६२ भन्दा बढी बिरामीहरु प्राथमिक स्वास्थ्य केन्द्र राजपुरमा उपचार गराउन आएको राजपुर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख खुर्सिद आलमले बताए ।

असोज ४ मा उपचार गराउन आएका १६ बिरामीमध्ये १२ जनामा हैजाको जीवाणु फेला परेको उनले बताए । ‘प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा परिक्षणका लागी पठाइएको नमुनामा हैजाको जीवाणु फेला परेको हो’, स्वास्थ्य शाखाका प्रमुख आलमले भने, ‘हैजा कुन माध्यमबाट फैलिएको हो भन्ने पुष्टी भएको छैन ।’

खानेपानीका माध्यमबाट हैजा फैलिएको आशंका भए पनि सो को पुष्टी हुन नसकेको र पानीमा हैजाको जीवाणु परीक्षणको लागि पठाए पनि अहिलेसम्म सो को नतिजा नआएको आलमले बताए ।

सो प्राथमिक स्वास्थ्य केन्द्रमा हालसम्म आएका ६२ बिरामीमध्ये ४० जना उपचार पछि घर फर्किएका छन् भने २२ जनाको उपचार जारी रहेको छ । समुदायस्तरमा हैजा फैलिएपछि सो क्षेत्रमा धाराबाट खानेपानी वितरण बन्द गरिएको छ भने जिल्ला प्रशासन कार्यालय रौतहटले सो अत्यावश्यक सेवा बाहेकका सवारी आवतजावतमा बन्देज लगाएको छ । हैजा फैलिएको सो क्षेत्रमा माछामासु ओसार पसार तथा बिक्री समेत निषेध गरिएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए ।

राजपुरमा हैजाको संक्रमण फैलिन थालेपछि नगरपालिकाले संघीय सरकार, मधेश प्रदेश सरकार तथा सरोकारवाला सबैलाई हैजा नियन्त्रण्मा सहयोगको अपील गरेको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको