जनकपुरधाम : प्रत्येक वर्ष जस्तै यस वर्ष पनि जनकपुरधाममा विजयदशमीको अवसर दशैँ सस्तो बजार लाग्ने भएको छ ।
जनकपुरधाम उद्योग वाणिज्य संघको अगुवाईमा यस वर्षपनि दशैँको अवसर पारेर सस्तो बजार लाग्ने भएको हो । यसका लागि तयारी शुरु भई सकेको जनकपुरधाम उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष सुरेन्द्र भण्डारीले जानकारी दिए । उनका अनुसार घटस्थापनाका दिन देखि दशैँ अवधीभर सस्तो बजार लाग्ने छ जहाँ दैनिक उपभोग्य, चाडपर्वका सरसमान देखि विभिन्न समानहरू सुपथ र सुलभ तरिकाले एकै ठाँउमा उपलब्ध हुनेछन् ।
अध्यक्ष भण्डारीले जनकपुरधाम बजार अहिले आर्थिक मन्दीको मारमा रहेकाले कुनै पनि शुल्कमा बृद्धि नगरिएको बताए । उनले भने ‘अहिले जनकपुरधाम बजार लगायत पूरै नेपालमा आर्थिक मन्दी छ त्यसलाई ध्यानमा राखेर पुरानै निर्णयहरुलाई निरन्तरता दिएका छौँ ।’ उनले पुरानै निर्णयलाई कार्यान्वयनमा ल्याएर त्यसमा थप के सुविधा दिन सकिन्छ त्यसतर्फ पनि सोचिरहेको बताए ।