जनकपुरधाम : जनकपुरधामदेखि भारतको अयोध्यासम्म रेल सेवा सञ्चालन हुने सोचेर स्थानीय हर्षित थिए । यसकालागि समय तालिका समेत सार्वजनिक गरि सकिएको थियो । रेल्वे कम्पनीले प्रत्येक शनिबार जनकपुरधामबाट १ः३० बजे अयोध्याका लागि रेल प्रस्थान हुने र सोही रेल आइतबार बिहान चार बजे अयोध्या पुग्ने गरी तालिका सार्वजनिक गरिएको थियो । सोही रेल सोमबार बिहान पाँच बजे त्यहाँबाट जनकपुरधामका लागि प्रस्थान गर्ने तालिका बनाएको थियो ।
अयोध्यादेखि जनकपुरसम्म चल्ने रेलमा २० वटा डब्बा हुने र त्यसमा एसी क्लासदेखि स्लिपर तथा जनरल डब्बा पनि रह्ने बताइएको थियो ।
यता बिहिबार नेपाल रेल्वेको निरिक्षणकालागि भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल बर्दिवास हुँदै जनकपुरधाम आई पुगे । संंचारकर्मीले उनी समक्ष जनकपुरधाम–अयोध्या रेल सेवा संचालनको तयारीको सम्बन्धमा प्रश्न तेर्साए । संचारकर्मीको प्रश्नको जवाफमा उनले जनकपुरधाम अयोध्या रेल सेवा संचालनका लागि सरकार गम्भिर रहेको यतिसम्म मात्रै जवाफ दिन सके । यद्यपि कहिलेसम्म जनकपुरधाम–अयोध्या रेल सेवा कहिलेसम्म संचालन हुने विषयमा स्पष्ट जवाफ भने दिन सकेनन् । जबकि रेल्वे कम्पनीले रेल सेवा संचालनको सम्पूर्ण तयारी पुरा गरि सकेको थियो ।
शुरुमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफू तेस्रो पटक प्रधानमन्त्री बनेको १०० दिनको अवसर पारेर जनकपुरधाम–अयोध्या रेल सञ्चालन गर्ने तयारी थियो तर नेपालबाट त्यसमा ध्यान नदिएका कारण ढिलाइ भयो ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री रहेको बेला नै जनकपुर–अयोध्या रेल उद्घाटन गर्ने तयारी थियो । दुवै देशका रेल्वे कम्पनीले आ–आफ्नो तयारी पूरा गरिसकेका थिए । रेलको रुट, दर रेट तथा सेवा–सुविधा सबै लगभग निश्चित भइसकेको थियो ।
उद्घाटनको तयारी चलिरहेकै बेला प्रधानमन्त्री पदबाट प्रचण्ड हटेपछि त्यसमा केही समयका लागि ब्रेक लागेको थियो । त्यसपछि एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएसँगै पुनः त्यसको तयारी सुरु भयो ।
यसबिचमा प्रधानमन्त्री ओलीको भारत भ्रमणको चर्चा पनि सुरु भएको थियो । प्रधानमन्त्री ओली भारत भ्रमणमा गएको मौका पारेर रेल सेवा उद्घाटन गर्ने तयारी भइरहेको थियो । तर ओली भारत भ्रमण नगर्दै संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने मौका छोेपेर अमेरिका भ्रमणबाट विदेश यात्राको शुरुवात गरे । यसले नेपाल–भारतबिचको सम्बन्ध चिसिएको अनुमान कतिपयले गरे । यद्यपि प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोेदीबिच अमेरिकामै भएको भेटले त्यसको केही निकास निस्किएको हुन सक्ने अनुमान मन्त्री दाहालले समेत गरे ।
दूबै देशका प्रधानमन्त्री स्वदेश फिर्ता भएपछि फेरी जनकपुरधाम अयोध्या रेल सेवा संचालनका विषयमा कुनै ठोस निर्णय हुने मन्त्री दाहालले बताए ।
जनकपुरधाम–जयनगर रेल्वेको उद्घाटन २०२२ अप्रिल २ मा भएको थियो । दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा दिल्लीबाटै त्यसको उद्घाटन गरेका थिए ।