जनकपुरधाम : सन् २०३० सम्ममा नेपाल ।मा प्राणघातक रोगको रुपमा रहेको रेबिज रोग शुन्य झार्नका लागि रेबिज रोग लाग्न नदिनेतर्फ ध्यान दिनुपनेमा विज्ञहरूले जोड दिएका छन्
“अवरोध हटाऔँ रेविज उन्मूलन गरौँ” मूल नारासहित विश्व रेविज दिवसको अवसरमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनुषाको आयोजनामा जनकपुरधाममा आयोजित कार्यक्रममा सहभागीहरूले रेविज रोग लाग्नबाट जोगिनका लागि घरपालुवा कुकुरलाई नियमित रुपमा रेविज विरुद्धको खोप लगाउन सुझाव दिए ।
पशु विज्ञहरूले सामुदायिक कुकुरको टोकाइबाट जोगिनुपर्ने धारणा राख्दै रेविज सार्ने जङ्गली जनावरको टोकाइबाट जोगिन आग्रह गर्दै कसैलाई टोकिहालेको खण्डमा खुल्ला धारामा साबुन पानीले १५ मिनेटसम्म पखालेर एक साताभित्रै रेविज विरुद्धको खोप लिन सुझाव पनि उनीहरुले दिए ।
रेविज लागेको पशुको ¥यालबाट मान्छेको शरीरमा काटिएको ठाउँ वा घाउ, मुख, आँखासहितको भागमा परेको खण्डमा रेविज रोग लाग्ने खतरा भएकाले त्यस्तो अवस्थामा नआत्तिई नजिकको स्वास्थ्य संस्थामा पुगेर रेविज विरुद्धको खोप लिन भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनुषाका प्रमुख वरिष्ठ पशु चिकित्सक डा. सञ्जीव कुमार ठाकुरले जानकारी दिए ।
मधेश प्रदेशका पशुपन्क्षी तथा मत्स्य निर्देशनालयका निर्देशक डा. जागेश्वर यादवले विश्वमा एक वर्षमा रेबिजका कारणले ५५ हजार मान्छेको मृत्यु हुनुका साथै नेपालमा ५ सय चौपाया तथा ३२ जना मान्छेको रेविज रोगका कारणले मृत्यु भएको बताउँदै रेबिजको विषयमा जनचेतना फैलाउन आवश्यक भएको बताए ।