जनकपुरधाम:तीनको लगातारको वर्षाले देशैभरीको जनजीवन प्रभावित रह्यो । मधेसका प्रत्येक जिल्ला अविरल वर्षाका कारण प्रभावित भएको छ । मधेसको राजधानी जनकपुरधामको सडकहरुमा पानी जम्मा भएको थियो । मधेसको मुख्यमन्त्री कार्यालयका साथै मन्त्रालयहरुको परिसरमा समेत पानी जम्मा भएको थियो ।
अविरल वर्षाका कारण जनकपुरधामको जनजीवन त प्रभावित रह्यो नै त्यसमाथी बजार व्यवसाय लगभग ठप्प जस्तै रह्यो । कतिपय व्यापारीहरुले बोहनी बट्टासम्म नभएको गुनासो गरे ।
यसका मधेसका अन्य जिल्लाहरु पनि प्रभावित भए । महोत्तरीको शिर खोलाले बगाउँदा एक जनाको ज्यान गएको छ । शनिबार बिहान १० बजेतिर घरबाट हराएका बर्दिवास–१० झ्याउरे भांग्रेका २१ वर्षका मानबहादुर थिङ खयरमारा खोला किनारमा मृत फेला परेका छन् ।
खोलामा बगेको मानिस स्थानीयले देखेपछि थिङ हुनसक्ने भन्दै जनप्रतिनिधि र प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले र स्थानीयले खोजी गर्ने क्रममा शनिबार साँझ ५ बजे खयरमारा ११ को मालगदिस विद्यालयको तल खोला किनाराको सिसौ घारीमा थिङको शव भेटिएको इलाका प्रहरी कार्यालय बर्दिवासका डीएसपी रेवतीरमण पोखरेलले जानकारी दिए ।
शिरखोलाबाट खयरमारा खोलासम्म झण्डै ५ किलोमीटर अगाडि उनको शव भेटिएको बर्दिवास–१० का अध्यक्ष प्रमोद मोक्तानले बताए । उनका अनुसार मृतक थिङ सुस्त मनस्थितिका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यता सर्लाहीको बागमती नगरपालिका–९, सक्रौल टोलमा खोलाले बगाएर एक किशोर बेपत्ता भएका छन् । शनिबार दिउँसो सोती खोला तर्नेक्रममा सोही ठाउँका सोगारथ महतोका १५ वर्षका छोरा मुकेश महतोलाई बाढीले बगाएको हो ।
खोलाले बगाएर बेपत्ता किशोरको स्थानीयको सहयोगमा प्रहरीले खोजी गरिरहेको प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । अविरल वर्षापछि वाग्मती नदीमा आएको बाढी सर्लाहीको तल्लो तटिय क्षेत्रका गाउँबस्तीमा पस्न थालेको छ । नदीको तटबन्ध माथिबाट बाढी गाउँ पस्न थालेको हो ।
बाढी बाँध माथिबाट ’ओभर फ्लो’ भएर गाउँमा पस्न थालेपछि बसबरिया १ र २ मानपुरका बासिन्दालाई सशस्त्र प्रहरीले सुरक्षित ठाउँमा सार्ने काम गरिरहेको छ । सशस्त्र प्रहरीले बोट्बाट बाढीमा फसेकाहरुको उद्धार गरिरहेको १० नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनालले जानकारी दिए । बाढी माथिबाट बग्दा तटबन्ध भत्किरहेको छ । यसले जोखिम बढाएको छ ।
यस्तै बलरा नगरपालिका–१ छन्कीटोला र बलरा–२ हथियौलमापनि ५० भन्दा बढी घर बाढीका कारण डुबानमा परेको मेयर रामाशंकर कुशवाहाले बताए ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बाढीको जोखिम क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको बताए ।
अविरल वर्षापछि वाग्मती नदीमा आएको बाढीले बृन्दावन नगरपालिका–१ बलरीखोरमा झण्डै १ सय जना फसेका छन् । ती मध्ये ३५ जनालाई सुरक्षाकर्मिले उद्धार गरेको छ । बिहान ८ बजे देखि उनीहरु बाढीमा फसेका हुन् । उनले हेलिकप्टरका लागी गृहसचिवसित कुरा गरेको बताए । बलरीमा फसेका मध्ये ३५ जनाको उद्धार सम्भव भएको ईलाका प्रहरी गरुडाका डिएसपी राजन कार्कीले जानकारी दिए । ‘कति फसेका छन् भन्ने यकिन हुन सकेको छैन,‘उनले भने,‘बाढीका कारण उद्धारमा कठिनाई भएको छ । हामिले सके जतिको उद्धार गरिरहेका छौं ।’
बलरीखोरमा नेपालीसेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीले फसेकाहरुलाई उद्धारको प्रयास गरिरहेका छन् । स्थानीय फसेको क्षेत्रमा सांसद, पूर्व नगरप्रमुख, स्थानीय जनप्रतिनिधिहरु पुगेका छन् । लगातारको वर्षाले घर डुबानमा परि बाहिर निस्कन खोज्दा रौतहटमा २ जना घाईते भएका छन् । बाग्मति र लालबकैया नदीमा आएको बाढीले बाँध कटानमा पारेको छ ।
त्यस्तै रौतहटमा अविरल वर्षापछि वाग्मती र लालबकैया नदीमा आएको बाढीले मौलापुर, कटहरिया, राजदेबी, दुर्गाभगवती गाउँपालिका क्षेत्रको बाँध कटान गरेको छ । बाँध कटानसँगै स्थानीयमा त्रास बढेको छ ।
दुवै नदीमा पानीको सतह बढेपछि स्थानिय प्रशासनले माइकिङ गर्दै स्थानीयहरूलाई सतर्क रहन अनुरोध गरेको छ । लालबकैयामा आएको बाढीले कटहरिया नगरपालिका–४ हर्साहा र मौलापुर–१ मर्यादपुर गाँउ छेउमा नदी नियन्त्रणका लागि लगाइएको बाँध कटान सुरू भएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए ।
‘कटान क्षेत्रमा नियन्त्रणको प्रयास भईरहेको छ । पानीको सतह बढेपछि कटान थालेको हो,’ उनले भने, ‘कटान क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको छ ।’ वाग्मतीको बाढीले दुर्गाभगवती गाउँपालिका–२ स्थित सुलिस गेट नजिकको गाडईड बाँध कटान थालेको गाउँपालिकाका अध्यक्ष शम्भु सिंहले बताए ।
राजदेवी नगरपालीकाको ब्रम्हपुरी क्षेत्रमा समेत बाँधमा कटान थालेको छ । यस क्षेत्रमा बर्सेनि वाग्मतीले कटान गर्दै आएको छ । लालबकैया नदीको बाढीले सदरमुकाम गौर लगायतको क्षेत्रमा खतरा बढेको छ । चन्द्रपुर भएर बग्ने चाँदी, बारा सिमानाको धनसार, तरहारी, गुजरा लगायत नदीमा पनि पानीको स्तर बढेको छ ।
बिहान कुलेखानी ड्यामको ढोका खोलेपछि वाग्मती नदीमा पानीको सतह बढ्न सक्ने भन्दै प्रशासनले नागरिकलाई सुरक्षित स्थानमा रहन माइकिङ थालेको छ । २०५० सालमा कुलेखानी ड्याम भत्किए पछि रौतहटको वाग्मतीमा दर्जनौं घर बगाएको थियो । अहिले सुरक्षाअधिकारीको टोली बाढी प्रभावित क्षेत्र पुगेको छ ।
गत भदौ ९ मा अविरल बर्षाका कारण लाल बकैया नदीमा आएको बाढीले मौलापुर नगरपालीका–१ स्थित मर्यादपुर गाउ नजिकैको पश्चिमतर्फको बाँध कटान गरेको थियो । लालबकैयाको बाढीले उक्त ईलाकाको बाँधलाई करिब १ सय मिटर पूर्ण रूपमा कटान गरेको हो ।
बाढीले केरा खेती, विद्युत्को पोल बगाएको थियो । कटान क्षेत्रमा तत्कालै बासको पाईलिङ गरेर बोरा राखीएको थियो । मर्यादपुर गाउँनजिक झण्डै १ सय फिट कटान गरेको थियो । वाग्मती नदीमा अहिले पनि पानीको सतह बढ्दै गएको छ ।
अविरल वर्षाको कारण पर्साको वीरगन्ज र ग्रामीण भेग पनि प्रभावित भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी दीपक भारतीका अनुसार वीरगन्ज महानगर वडा नं ६ र ७ कुम्हाल टोलमा नालाको पानी निकास नहुँदा बाटो र केही घरका आँगन जलमग्न भएको छ ।
महानगरकै वडा नं १ र २ भकुवा र छपकैंयामा पनि वर्षाको पानीको निकास नहुँदा बाटो जगलग्न भएका छन् र केही घरमा पानी पसेका छन् । महानगरकै वडा नं ११ डोम टोलमा सिर्सिया खोलाको पानी पस्दा आधा दर्जन घर पानी पसेको छ । कृषि औजार अनुसन्धान केन्द्र पनि जलमग्न भएको छ । श्रीपुर–रानीघाट क्षेत्रको सडक पनि जलमग्न छ ।
वीरगन्ज–१३ राधेमाईमा वडा प्रहरी कार्यालय श्रीपुरको भवनको पछाडिको भागमा सिर्सिया खोलाको भेल आएर क्षति पुगेको छ । प्रभावित स्थानहरुमा प्रहरी टोली पुगेर स्थानीयको उद्धारको प्रयास जारी रहेको डीएसपी पुरीले बताए । वीरगन्ज महानगरपालिका–१५ भिस्वा टोल पनि पानीको निकास नहुँदा डुबानमा परेको छ । वडा नं १६ नगवा क्षेत्र पनि डुबानमा परेको छ ।
वीरगन्जको आदर्शनगर क्षेत्रको मुख्य सडक डुबानमा परेको छ । सिर्सिया खोलाको पानी मुख्य नाला हुँदै प्रवेश गरेपछि आदर्शनगर क्षेत्र डुबानमा परेको हो ।
कृषि औजार अनुसन्धान केन्द्र परिसर वीरगन्जमा रहेको वर्षा मापन उपकरणमा शनिबार मध्यान्ह सम्म १ सय ९१ एमएम वर्षा मापन गरिएको केन्द्र प्रमुख इन्जिनियर सचिन कुमार मिश्राले जानकारी दिए । उनले कार्यालयको आवास गृहहरु डुबानमा परेको र कार्यालय परिसर जलमग्न भएको बताए ।
वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले सामाजिक सन्जालबाट महानगरवासीलाई सिर्सिया खोलाको जलस्तर बढेर मानवबस्ती प्रवेश गरेकाले सर्तकर्ता अपनाउन आह्वान गरेका छन् ।
बिन्दवासिनी गाउँपालिकामा तिलाबे खोलामा एप्रोच सडकसँग जोडिएको तटबन्ध भत्किँदा पुललाई जोखिम बढेको छ । पकाहामैनपुर गाउँपालिका–२ मा नाला जाम भई निकास नहुँदा २० घर डुबानमा परेका छन् । पर्सागढी नगरपालिका–९ मा तिलाबे खोलाको जलस्तर बढेर एकटाङ्गा–मनवा सडक खण्ड अवरुद्ध भएको छ ।
जिराभवानी गाउँपालिकामा ओरिया खोलाको जलस्तर बढेर महादेवपट्टी–सेडवा सडक खण्ड अवरुद्ध भएको छ । पटेर्वासुगौली गाउँपालिका–४ मा भलुही खोलाको जलस्तर बढ्दा पटेर्वासुगौली–शंकरसरैया सडक खण्ड अवरुद्ध भएको छ । पटेर्वासुगौली–२ मा भलुही खोलाको जलस्तर बढेपछि रंगपुर–मनवा सडक खण्ड अवरुद्ध भएको छ । हालसम्म मानवीय क्षतिको कुनै जानकारी नआएको डीएसपी भारतीले जानकारी दिए ।