पुल माथिबाटै पानी बग्न थाल्यो, आवागमन बन्द

जनकपुरधाम:सप्तकोशी नदीको बहाव इतिहासकै दोस्रो उच्च बिन्दुमा पुगेको छ । यसअघि कोशीमा सन १९६८ सालमा कोशीमा आजको भन्दा बढी पानी बगेको थियो । सो बेला ७ लाख ८८ हजार २ सय क्युसेक पानी कोशी ब्यारेज हुँदै बगेको थियो ।

शनिवार साँझ ५ बजे कोशीमा ५ लाख ६० हजार क्युसेक पानी कोशी ब्यारेजमा मापन गरिएको छ । कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार ५६ वर्ष यता सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको जनाएको छ । पानीको तेज बहावले हाई अलर्ट घोषणा गर्दै ब्यारेजको ५६ वटै ढोका खोलिएको छ ।

अहिले केही पानी ब्यारेज माथिबाट बगिरहेको छ । ब्यारेजको ३८, ३९ र ४० नम्बर ढोका नजिक पुलमाथिबाट पानी बग्न थालेको हो । ब्यारेज पुलमा सवारी साधन आवागमनमा रोक लगाइएको छ ।

२०११ सालमा कोशी सम्झौता भएपछि भारत तर्फ पानी लैजानका लागि इन्टेक बनाउन ब्याारेजको निर्माण भएको हो । ब्यारेज पुरानो भएका कारण पटक पटक खतरा हुने चेतावनी दिइँदै आएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मीका अनुसार पानी ब्यारेज माथिबाट बगेको बताए । पानीको बहाव उच्च भएका कारण दिउँसोबाट ब्यारेजबाट आवतजावत बन्द गरिएको छ ।

रेग्मीका अनुसार, हालको पानीको बहाव पछिल्लो ३७ वर्षयताकै उच्च हो । यसअघि सन् १९८७ मा ५ लाख २३ हजार क्युसेक बाढी मापन गरिएको थियो, तर यसपटकको बाढीले त्यो रेकर्ड पनि तोडेको छ । अहिलेसम्मको सबभन्दा बढी रेकर्ड सन् १९६८ को रहेको ती बेला कोशी व्यारेजमा पानीको बहाव ७ लाख ३० हजार क्युसेक पुगेको मापन गरिएके थियो ।

भारतको बिहार सरकार जल तथा संशाधन विभागले कोशीमा बाढीको बहाव प्रतिसेकेन्ड ६ लाख ८१ हजार ६ सय ३९ क्युसेक पुग्न सक्ने पूर्वानुमान गरेको छ । कोशी आसपास र तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ । एसपी रेग्मीले ठाउँ ठाउँमा उद्धार टोली पनि परिचालन गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको