जनकपुरधाम : असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाले बाढी पहिरो र डुबानमा २ सय बढीको जनाको ज्यान गएको छ भने अझै दर्जनौ बेपत्ताको सूचीमा छन् । विपद्पछिको उद्धार र राहतमा सरकारले चुस्त दुरुस्त ढङ्गले राज्य संयन्त्र परिचालन गर्न नसकेको आलोचना भइरहँदा सिंहदरबारमा भने दैनिक तीन चार वटा बैठक बसेर उस्तै र उही प्रकृतिका निर्णय गर्ने क्रम जारी छ ।
बैठक नै पिच्छे उस्तै र उही प्रकृतिका निर्णय गर्नुले पनि सरकारी संयन्त्रबिचको समन्वयको अभावलाई झल्काएको छ । लगातार बैठक बस्ने र निर्णय गर्ने क्रम जारी रहे पनि बाढी पहिरो र डुबानबाट काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लामा भएको जनधनको यकिन क्षतिको विवरण सरकारले अहिलेसम्म सार्वजनिक गर्न सकेको छैन । बरु एक सातामा क्षतिको विवरण सङ्कलन गर्ने सरकारी निकायको भनाइ आइरहेको छ ।
सोमबार दिनभर सिंहदरबारमा चार वटा बैठक बस्ने भएका छन् । ती बैठकको प्रधानमन्त्रीदेखि गृहमन्त्री र मुख्यसचिव सम्मले नेतृत्व गर्दैछन् । सोमबार बिहान सिंहदरबारमा पहिलो बैठक राष्ट्रिय विपद् जोखिम न्यूनीकरण समितिको बस्यो ।
गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको उक्त बैठकले बाढी पहिरो लगायतका मनसुनजन्य विपद्मा परी बेपत्ता भएका परिवारलाई मृतक सरह राहत रकम उपलब्ध गराउने, विपतबाट प्रभावित भएकाहरूलाई आवासको प्रबन्ध गर्ने लगायतका निर्णय ग¥यो ।
यसका साथै सहायताका लागि विकास साझेदारहरूलाई अनुरोध गर्ने निर्णय समेत सोही बैठकले गरेको छ । समितिका एक सदस्यका अनुसार संयुक्त राष्ट्रसङ्घ, रेडक्रस लगायत नेपालभित्र क्रियाशील विकास साझेदारहरूले उपलब्ध गराउने कोष परिचालन गर्ने उद्देश्य अनुसार सो निर्णय गरिएको हो ।
सो बैठकले बेपत्ता भएको १० दिनसम्म पनि फेला नपरेका व्यक्तिलाई मृतक सरह मानेर परिवारका सदस्यलाई राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ जोखिम न्यूनीकरण समितिको बैठक लगत्तै सोमबार नै मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा अर्को बैठक बस्यो ।
मुख्यसचिव अर्यालको अध्यक्षतामा बसेको बैठकले विपद्बाट भएको क्षति व्यवस्थापन गर्न तथा राहत र पीडितको पुनर्स्थापनाका लागि भौतिक लगायत विभिन्न मन्त्रालयका पाँच वटा टोली विपद् प्रभावित क्षेत्रमा परिचालन गर्ने निर्णय ग¥यो । सोही बैठकले प्रधानमन्त्री राहत कोषमा नेपाल सरकारका सचिवहरूको पाँच दिनको तलब जम्मा गर्ने र अन्य मन्त्रालयले पनि आ–आफ्नो तर्फबाट सहयोग कोषमा राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
सोमबार नै गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको तेस्रो बैठक पनि बस्दैछ । दिउँसो २ बजेपछि बस्ने उक्त बैठकले के निर्णय गर्छ त्यो भने आउन बाँकी नै छ ।
केन्द्रीय सुरक्षा समितिको बैठक लगत्तै प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र सङ्घको महासभाबाट फर्केर सिंहदरबारमै मन्त्रिपरिषद्को बैठक बस्दैछ । आइतबार पनि सिंहदरबारमा दिनभरजसो विभिन्न बैठकहरू बसेका थिए । जसमा सर्वदलीय बैठकदेखि केन्द्रीय सुरक्षा समिति र अन्तर मन्त्रालयका सचिव र मन्त्रीहरूको बैठक बसेको थियो ।
आइतबारको केन्द्रीय सुरक्षा समितिको बैठकले बाढी पहिरो तथा डुबानबाट प्रभावितहरूको खोज तथा उद्धार, राहत, अवरुद्ध सेवा सञ्चालनसहित घाइतेहरूको नि:शुल्क उपचार गर्ने लगायतका निर्णय गरेको थियो । त्यसअघि सिंहदरबारमै कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा दलहरूको सर्वदलीय बैठक बसेको थियो ।
सर्वदलीय बैठकले खोज तथा उद्धारलाई पहिलो प्राथमिकतामा राख्दै नौ बुँदे निर्णय गरेको थियो । सर्वदलीय बैठकमा पनि विपतमा घाइते भएकाहरूको नि:शुल्क उपचार गर्ने, घरबारविहीन भएकाहरूलाई आवासको प्रबन्ध गर्ने, लगायतका निर्णय गरेको थियो । शनिवार पनि सिंहदरबारमा विभिन्न बैठक बसेका थिए । शनिवारको बैठकमा पनि आइतबार र सोमबारका बैठकले भन्दा भिन्न निर्णय गरेका थिएनन् ।