जनकपुरधाम : अविरल वर्षाका कारण सदरमुकाम गौरस्थित भन्सार क्षेत्र डुबानमा परेको छ । डुबानका कारण सरकारी र सार्वजनिक सेवा क्षेत्र ठप्प भएको छ भने जनजीवन कष्टकर बनेको छ ।
सीमाक्षेत्रका स्थानीयलाई वारपार गर्न अहिले कठिनाइ भइरहेको छ । मानिसहरु पानीमा जोखिम मोलेर वारपार गरिरहेका छन् । साना बालबालिकालाई सशस्त्र प्रहरीले डुबानबाट तारेर मद्दत गरिरहेका छन् ।
गौर भन्सारको क्षेत्र अहिले डुबानमा छ । पारी भारतको बैरगनियाबाट आउने र नेपालबाट जानेहरु कष्टसँगले वारपार गरिरहेका छन् । ठेला, टांगा चढेर स्थानीयबासीले ओहोरदोहोर गरिरहेका छन् ।
पैदल यात्रीहरुलाई सुरक्षाकर्मीले वारपार गराइरहेका छन् । सशस्त्र प्रहरीका एसपी बिक्रम हुँमागाईले डुबानका कारण भन्सार क्षेत्रमा मानिसहरु हिँडडुल गर्न असहज भएको बताए । ‘डुबान कम हुँदै गएपनि मानिसहरु आवतजावत गर्न समस्या भइरहेको छ, ‘ उनले भने, ‘पानीमा जोखिम हुने हुँदा बालबालिकालाई भन्सारमा तैनाथ सशस्त्र प्रहरीले वारपारमा मद्दत गरिरहेको छ ।’
लगातारको वर्षापछि बाग्मती र लालबकैयामा आएको बाढीले बाँध भत्किएपछि सबैभन्दा बढी डुबान भन्सार क्षेत्रमा भएको छ । लगातारको वर्षाले गौर–चन्द्रनिगाहपुर खण्डको सबगढा नजिकको लच्कामा पानी जमेपछि आवतजावतमा समस्या भएको छ ।
लच्कामा साना सवारी सञ्चालनमा कठिनाइ भएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिएका छन् । लच्कामा केही स्थानीयले रकम लिएर मानिस र सवारी वारपार गराइरहेका छन् ।