जनकपुरधाम : सर्लाहीको बलरास्थित नेपाल–भारत सीमामा सोमबार डुबेको अवस्थामा एक बालकको शव फेला परेको छ ।
नेपाल–भारत सीमामा पर्ने १२ नम्बर पीलर छेउबाट बलरा नगरपालिका–३ का महावीर ठाकुरको १२ वर्षका छोरा अंकित ठाकुरको डुबेको अवस्थामा शव फेला परेको हो ।
अंकित शनिबार साँझ भारतीय सीमावर्ती बजार बसबिट्टा हरियो तरकारी किन्न पुगेका थिए । बजारबाट फर्किनेक्रममा बागमतीमा आएको बाढी गाउँ पस्दा उनी दशगजामै डुबेका थिए ।
बालक शनिबार साँझसम्म घर नआएपछि उनका बुवा महावीरले प्रहरीलाई खबर गरेका थिए । तर पानीको बहाव बढ्दै गएपछि उनको उद्धार हुनसकेको थिएन । सोमबार पानीको सतह घटेपछि अंकितको शव फेला परेको ईलाका प्रहरी कार्यालय बलराले जनाएको छ । बालकको शव पोष्टमार्टमकालागि प्रादेशिक अस्पताल मलंगवा ल्याइएको छ ।
यस्तै शनिबार बाग्मतीस्थित सोती खोलामा डुबेका बाग्मती नगरपालिका–९ सक्रौल टोलका सोगारथ महतोका १५ वर्षका छोरा मुकेश महतो अझै बेपत्ता नै छ । उनको शनिबारदेखि नै खोलामा खोज्ने काम भइरहेपनि फेला नपरेको ईलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।