काठमाडौँ:बलिउड अभिनेत्री कंगना रनावतको फिल्म ‘इमरजेन्सी’ ले प्रदर्शनको अनुमति पाएको छ । सेन्सर बोर्डले फिल्मलाई रिलिजको लागि सर्टिफिकेट दिएको छ ।
ट्रेलर रिलिज भएदेखिनै ‘इमरजेन्सी’ को विरोध सुरु भएको थियो । लगातार शिख समुदायले फिल्मको विरोध गरेपछि भारतको सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेसनले यसलाई प्रमाणपत्र दिएको थिएन । जसकारण प्रदर्शन मिति सेप्टेम्बर ६ मा फिल्म रिलिज हुन सकेन ।
सेन्सर प्रमाणपत्रको माग गर्दै फिल्म निर्माता जी इन्टरटेन्मेन्ट इन्टरप्राइजेज बम्बई उच्च अदालत पुगेको थियो । यस फिल्ममा कंगनाले भारतका तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको भूमिका निर्वाह गरेकी छन् ।
सिख संगठनले यो फिल्मलाई प्रतिबन्ध लगाउनुपर्ने माग राखेका थिए । शिरोमणि अकाली दललगायत सिख संगठनले फिल्म निर्माताले सिख समुदायको भावनामा चोट पु¥याएको र गलत रूपमा प्रस्तुत गरेको आरोप लगाए । आफूसँग सम्बन्धित घटनालाई विकृत गरिएको शिख समुदायको आरोप थियो । यो फिल्म २५ जुन १९७५ देखि २१ मार्च १९७७ सम्म मुलुकमा लगाइएको २१ महिनाको संकटकालको कथामा आधारित छ । कंगना यस फिल्मका निर्देशक र निर्माता पनि हुन् ।
सर्टिफिकेट पाएपछि अभिनेत्री कंगनाले सामाजिक सञ्जालमार्फत खुशी व्यक्त गरेकी छन् । ‘हाम्रो फिल्म इमरजेन्सीले सेन्सर बोर्डको तर्फबाट सर्टिफिकेट पाएको खबर घोषणा गर्न पाउँदा एकदमै खुशी लागिरहेको छ । हामी फिल्मको रिलिज डेट छिट्टै घोषणा गर्नेछौं । तपाईहरू सबैलाई समर्थनका लागि धेरै धेरै धन्यवाद,’ उनले ट्विटरमा लेखेकी छन् ।