जनकपुरधाम:संघीय सरकारको तर्फबाट बाराको सिमरा स्थित विशेष आर्थिक क्षेत्र (सेज) मा थप १५ वटा उद्योगलाई स्थापना अनुमति प्रदान गरिएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार सार्वजनिक गरेको सय दिने कार्यप्रगति विवरणमा यो जानकारी उल्लेख गरिएको हो ।
सिमरा सेजमा थप १५ वटा उद्योग स्थापना गर्न जग्गा (प्लट) प्रदान गरिएको छ, जसबाट कूल ६८४ करोड लगानी हुने र १,२८७ जनालाई रोजगारी सिर्जना गर्ने प्रतिवद्धता प्राप्त भएको छ। तीमध्ये सातवटा उद्योगसँग उद्योग सञ्चालनका लागि आवश्यक सम्झौतासमेत भइसकेको मन्त्रालयले जनाएको छ ।
यस्तै, भैरहवा विशेष आर्थिक क्षेत्र (सेज) मा पनि १० वटा उद्योगलाई उद्योग स्थापना गर्न प्लट उपलब्ध गराइएको छ । ती उद्योगहरूबाट ३४४ करोड लगानी र ३,५२३ जनाका लागि रोजगारी सिर्जना हुने आशा गरिएको छ। मन्त्रालयका अनुसार वर्तमान सरकार गठन भएको सय दिनको अवधिमा भैरहवा सेजमा थप दुई उद्योगले उत्पादन सुरु गरेका छन् ।
तीनवटा उद्योगसँग उद्योग सञ्चालनका लागि सम्झौता भइसकेको छ भने अन्य उद्योगहरू पनि चाँडै सञ्चालनमा आउने अपेक्षा गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको यो पहलले नेपालमा औद्योगिक पूर्वाधारको विस्तारलाई टेवा पुग्ने र रोजगारीका अवसरहरू वृद्धि हुने विश्वास गरिएको छ ।