लामिछानेको तिहार हिरासतमै

जनकपुरधाम:रास्वपाका सभापति रवि लामिछानेविरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पनि अनुसन्धान सुरु गरेको छ । सङ्गठित अपराध, ठगी र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्न अदालतबाट थप ७ दिनको म्याद लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी (डीएसपी) वसन्त शर्माले बताए ।

प्रहरीले पूर्वडीआइजी छविलाल बन्जाडे (जोशी) र लीला पछाई विरुद्ध पनि सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्ने भएको छ । तिनै जनालाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलले अनुमति दिएका हुन् । जिल्ला प्रहरी कार्यालय कास्कीले उनीहरूलाई थप २५ दिन हिरासतमा राख्न अनुमति मागेको थियो । प्रहरीले आरोपीहरूको सम्पत्तिको स्रोतबारे पनि अनुसन्धान गर्नेछ ।

पूर्वउपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने कार्तिक २ मा वनस्थलीबाट पक्राउ परेका थिए । पूर्वडीआईजी छविलाल जोशी असोज ६ मा र पछाई असोज १५ मा पक्राउ परेकी थिइन् । लामिछानेलाई कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालले पहिलो पटक ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएका थिए । उनीहरु विरुद्ध सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीवी) राईसँग मिलेर सहकारीको रकम अपचलन गरेको आरोप छ ।

जीवी राई, पूर्व डीआईजी छविलाल जोशी र लामिछाने मिलेर गोर्खा मिडिया नेटवर्कमार्फत टेलिभिजन सञ्चालन गरेका थिए । गोर्खा मिडिया नेटवर्कमा पाँच वटा सहकारीबाट ६५ करोड ५४ लाख अवैध तरिकाले आएको सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिको निष्कर्ष छ । लामिछाने गोर्खा मिडियाका निर्देशक थिए । गोर्खा मिडियामा आएको रकम लामिछानेले खर्च गरेका हुन् ।

पोखरा महानगरपालिका वडा नम्बर–४ स्थित सूर्य दर्शन बचत तथा ऋण सहकारीमा कार्यरत लीला पछाईले गितेन्द्रबाबु राईसँग मिलेर ३ करोड रुपैयाँ आफ्नो बैंक खातामा डिपोजिट गरेर अपचलन गरेको आरोप छ ।

छविलाल जोशी र लीला पछाईको बयान पुरा भएको छ । लामिछानेको बयान लिने काम प्रक्रियामा रहेको कास्कीका एसपी श्यामबाबु ओलियाले बताए ।

७ दिन म्याद थप

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तिहारसम्म रिहा नहुने भएका छन् । कास्की जिल्ला अदालतले बिहीबार रविमाथिको अनुसन्धानका लागि थप ७ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो ।

रविका सम्बन्धमा कास्की जिल्ला अदालतले थप गरेको म्याद बिहीबारदेखि नै गणना हुनेछ । ७ दिनको म्याद पाएको प्रहरीले रविलाई कात्तिक १४ गतेसम्म हिरासतमा राख्नेछ ।

तर, कात्तिक १५ गतेदेखि तिहार बिदा सुरु हुने भएकाले उनलाई सात दिने म्याद सकिएलगत्तै प्रहरीले अदालतमा उपस्थित गराउन नमिल्ने देखिएको हो । तिहार बिदापछि कात्तिक २० गतेमात्र सरकारी कार्यालय खुल्ने छ ।

त्यसैले प्रहरीले रविलाई कात्तिक २० मामात्र अदालतमा उपस्थित गराउने छ । त्यतिबेला फेरि रविको म्याद थप गर्ने कि नगर्ने भन्नेबारे अदालतमा बहस हुने छ । त्यतिबेला अदालतले तिहार बिदासमेत गणना हुने गरी म्याद थपबारे निर्णय गर्नेछ ।

त्यसो त, तिहार बिदामा रवि लामिछानेका तर्फबाट बन्दी प्रत्यक्षीकरणको रिट निवेदनसमेत दायर गर्न सकिन्छ । बन्दी प्रत्यक्षीकरणको रिट भने पर्व बिदामा समेत अदालतले हेर्ने छ ।

तर, यसअघि छविलाल जोशीको हकमा सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको रिट निवेदन नै खारेज गरिदिएको थियो । सर्वोच्चको आदेशमा भनिएको छ, ‘कास्की जिल्ला अदालतबाट अनुमति प्राप्त भएबमोजिम हिरासतमा रहेको अवस्था देखिएका सन्दर्भमा निवेदकलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्न मिल्ने नदेखिँदा मागबमोजिम बन्दी प्रत्यक्षीकरण आदेश जारी गर्न मिलेन, प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ ।’

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको