हेटौडा:मकवानपुर प्रहरीले सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगबाट लाखौं मूल्यको बिजुलीको तार चोरी गर्ने गिरोहका तीन जना पक्राउ गरेको छ ।

गत २३ असोज बिहान २ बजे हेटौंडा उपमहानगरपालिका–९ लामसुरेस्थित उद्योगबाट तार चोरी भएको थियो । उद्योगको तार चोरी योजनाबद्ध रुपमा एउटा समूहले गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । १ कात्तिकमा प्रहरीमा तार चोरी भएको उजुरी परेको थियो । घटनाको हप्ता दिनपछि मात्रै प्रहरीले जानकारी पाएको थियो ।

चोरीमा संलग्न भएको आरोपमा मनिराम थोकर, सन्तबहादुर तितुङ र चोरीको तार खरिद गर्ने कबाड व्यवसायी मोतिहारी भारतका दिलखुश कुमार साहलाई पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ । हेटौंडा उपमहानगरपालिका–१३ वनस्पतिका २२ वर्षीय मनिराम थोकरले फलामको धातु काट्न प्रयोग हुने हेक्सो ब्लेड खरिद गरी लगेको अनुसन्धानबाट खुलेपछि चोरीमा संलग्न गिरोहहरु नजिक पुग्न प्रहरीलाई सजिलो भएको थियो ।

प्रहरीले थोकरलाई ७ कात्तिकमा हार्डवयर पसलबाट पक्राउ गरेको छ । थोकरले १३ नम्बर वडाकै २८ वर्षीय सन्तबहादुर तितुङलगायत अन्य ५–७ जना व्यक्तिहरु मिलेर बिजुलीको तारहरु चोरी गरेको प्रहरीलाई बताएका थिए ।

उनीहरुले तार चोरेर उद्योग नजिकै प्लटिङ गरेको जग्गामा ल्याएर छिलि हेटौंडा–४, स्थित फरेष्ट्री गेट नजिकको कबाडी पसलमा बिक्री गरेको खुलेको मकवानपुरका प्रहरी प्रमुख एसपी विश्वराज खड्काले जानकारी दिएका छन ।

उद्योगको पश्चिमतर्फको रोपवेदेखि क्रसरसम्म जाने ६ इञ्च र ४ इञ्चको बिजुलीको तामाको तारहरु काटेर चोरी भएको तथ्य प्रहरीले पत्ता लगाएको मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको