जनकपुरधाम:संघीय सरकारले तराइ मधेस समृद्धि कार्यक्रमका लागि तीन जनाको दरबन्दी स्वीकृत गरेको छ । मन्त्रिपरिषद् बैठकले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत सञ्चालित सो कार्यक्रमका लागि दरबन्दी स्वीकृत गरेको हो ।

आर्थिक वर्ष २०८१÷०८२ का लागि अधिकृत स्तरका तीन जना अस्थायी दरबन्दी स्वीकृत गरेको सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले जानकारी दिए ।

तराई मधेसको मानव विकास सूचकाङ्कमा तुलनात्मक रूपमा पछाडि परेका स्थानीय तहमा भौतिक पूर्वाधारलगायत विकासका कार्यक्रमहरू एकीकृत रूपमा सञ्चालन गरी सघन रूपमा आर्थिक, सामाजिक रूपान्तरण गर्न एवम् जनताको सार्वजनिक सेवामा पहुँच अभिवृद्धि तथा जीवनस्तरमा सुधार ल्याउन सरकारले यो कार्यक्रम लागू गर्दै आएको छ । कार्यक्रममार्फत आवश्यक विकास कार्यक्रम तर्जुमा गरी सञ्चालन र व्यवस्थापन गरिँदै आएको छ ।

यस्तै, मुस्ताङको कोरोलास्थित अध्यागमन कार्यालय, दार्चुलाको टिंकरस्थित सीमा प्रशासन र इलामको पशुपतिनगरस्थित सङ्गठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने निर्णय गरिएको पनि मन्त्री गुप्ताले जानकारी दिए । बैठकले दार्चुलाको छाङरु र इलामको पशुपतिनगरस्थित सीमा प्रशासन कार्यालय तथा पशुपतिनगरमै अवस्थित अध्यागमन कार्यालय खारेज गरेको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको