जनकपुरधाम : सहकारीका सवालसम्बन्धी समस्या समाधानका लागि सुझाव दिन दुई दिने नीति संवाद शुरू भएको छ ।

राष्ट्रिय सहकारी महासङ्घको आयोजनामा शुरू भएको कार्यक्रमको आज उद्घाटन गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सिद्धान्त, कानूनअनुसार सहकारी चले कि चलेनन् भनी दुई दिने कार्यक्रममा छलफलसहित समीक्षा गर्न सुझाव दिए ।

उनले सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि सरकारले कर्जा सूचना केन्द्रको स्थापना, स्थिरीकरण कोषको व्यवस्था र ऋण असुली न्यायाधीकरण स्थापनाको तयारी गरिएको जानकारीसमेत दिए ।

सहकारी प्रवर्द्धन कोषमा करिब रु पाँच करोड जम्मा भएको उल्लेख गर्दै मन्त्री अधिकारीले हाल कोषमा आउने पैसा रोकिनु ठीक नभएको बताए ।

सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि बैंकमा राखिएको धितोको विषयमा सकारात्मक तरिकाले सहयोग गरिनुपर्ने उनको भनाइ थियो ।

पूर्वसचिव एवं नेपाल सरकारले गठन गरेको उच्चस्तरीय आर्थिक क्षेत्र सुझाव सुधार समितिका अध्यक्ष रामेश्वर खनालले सहकारी र निजी क्षेत्रमा ठूलो फरक भएकाले सहकारीले निजी क्षेत्र जसरी काम गर्न नहुने बताए ।

धेरै सहकारीमा लामो समयसम्म एकै व्यक्तिले नेतृत्व गर्दा पनि समस्या आएको उनले सुनाए ।

एउटा व्यक्ति कतिपटक सहकारीको अध्यक्ष हुन पाउने भनी कानूनी व्यवस्था गरिनुपर्ने पूर्वअर्थ सचिवसमेत रहेका खनालको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको