जनकपुरधाम:स्थानीय तह सञ्चालनका लागि हुने खरिद र विकास निर्माणबाट आउने कमिसन र सेवा सुविधाका लागि ‘सेटिङ’ गर्न प्रमुख प्रशासकीय अधिकृतहरुले सरुवा भएपनि छाडेर नजाने प्रवृति बढदै गएको छ ।

स्थानीय तहबाट प्रमुख प्रशासकीय अधिकृत सरुवा हुँदापनि अवैध कमाईका लागि सोही स्थानीय तहमा बस्ने चाहने प्रमुख प्रशासकीय अधिकृतहरुको प्रवृति बढदै गएको स्थानीय जनप्रतिनिधिहरू बताउँछन् ।

कमिसन दिने÷उठाउने र खरिद गर्ने सप्लायर्ससँगको सम्बन्धले पनि प्रशासकीय अधिकृत स्थानीय तहबाट सरुवा भएर जान नचाहने सरोकारवालाको दाबी छ । लामो समयसम्म एउटै स्थानीय तहमा बसेका अधिकृतले कमिसन संकलन गर्ने नेटवर्क बनाउनुका साथै जनप्रतिनिधिको कमजोरी बुझेर भ्रष्टाचारमा रमेका हुन् ।

स्वार्थ मिले वर्षौंसम्म बस्ने र स्वार्थ नमिले महिना दिनमै प्रमुख प्रशासकीय अधिकृतको संघीय प्रशासन मन्त्रालयले सरुवा गर्दा जनप्रतिनिधिले अपेक्षाअनुसार काम गर्न समस्या भएको सम्सी गाउँपालिकाकी उपप्रमुख अनिताकुमारी यादव बताउंछिन । ‘कार्यालय नआउने, महिनामा २÷३ दिन १÷२ घण्टाका लागि कार्यालय आउने, गुनोसो गर्दा जनप्रतिनिधिलाई नै हुलहुज्जत गर्ने प्रशासकीय अधिकृत सरुवा भएर पनि पुनः गाउँपालिकामा आउदा द्वन्द्व बढाएको छ,’ उनले पीडा पोखिन् ।

महोत्तरीको सम्सी गाउँपालिकाबाट सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत गणेशचन्द्र मिश्र पनि पुनः गाउँपालिका फर्किन शक्तिकेन्द्रमा धाइरहेको जनप्रतिनिधिहरू गुनासो गर्छन् । पटक–पटक सरुवा गर्दा पनि सर्वोच्च अदालतको ‘स्टे अर्डर’ ल्याएर सम्सी गाउँपालिकामै बस्दै आएका उनी अदालत, संघीय प्रशासन मन्त्रालय र जनप्रतिनिधिलाई आफ्नो पक्षमा पार्नमा जुटेका छन् ।

गाउँपालिकाको प्रशासकीय अधिकृतमा मनोजकुमार साह सरुवा भएर गत आइतबारदेखि जिम्मेवारी सम्हालेपछि मिश्रले सम्सीमै बस्न आर्थिक चलखेल गरिरहेको उनले बताए ।

२०७८ मंसिर २३ मा सम्सी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत भएर आएका मिश्रको तीनपटक सरुवा भइसकेको छ । तर, मिश्रले अदालत र संघीय प्रशासन मन्त्रालयका कर्मचारीलाई आर्थिक प्रलोभनमा पारेर सम्सीमा बस्दै आएको ती जनप्रतिनिधिको दाबी छ ।

पहिलो पटक तीन महिनामै सरुवा भएपछि गाउँपालिकाको कामकाजमा बाधा पुग्ने भन्दै तत्कालीन गाउँपालिका अध्यक्ष शेष फारुक र प्रशासकीय अधिकृत मिश्रले संयुक्त रूपमा सर्वोच्च अदालतमा उत्प्रेषणसमेतको मुद्दा दर्ता गराएका थिए । त्यसपछि मिश्र प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा पुनः फर्किएका थिए ।

अधिकृत मिश्र २ महिनासम्म बिना जानकारी गाउँपालिकामा नआएपछि सम्सी गाउँपालिकाकी उपप्रमुख यादवले मिश्रको हाजिरी पुस्तिकामा कैफियत लेखेर अर्का प्रमुख प्रशासकीय अधिकृत ल्याउन मन्त्रालयलाई गुहारेकी थिइन् । ०८१ साउन २१ गतेदेखि मिश्र सम्पर्कमै नआएपछि संघीय प्रशासन मन्त्रालयले सम्सी गाउँपालिकामा मनोजकुमार साहलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर पठाएको छ । साहले जिम्मेवारी सम्हालेपछि मिश्र फेरि सम्सीमै फर्किन अदालत र मन्त्रालय धाइरहेको उपप्रमुख यादवले बताइन् ।

महोत्तरीको गौशाला नगरपालिकामा दुई साताअघि सरुवा भएर आएका प्रशासकीय अधिकृत सुबोध ठाकुरको पछिल्लो ५ महिनामा तीन स्थानीय तहमा सरुवा भइसकेको छ । असारमा धनुषाको हंसपुरमा सरुवा भएका उनलाई जनप्रतिनिधिले हाजिर हुन दिएनन् । लामो समयसम्म हंसपुर बस्दा जनप्रतिनिधिलाई नटेरेपछि हंसपुरबाट सरुवा भएको दुई महिनापछि ठाकुर पुनः हाजिर हुन आउँदा जनप्रतिनिधिले अवरोध गरेका थिए ।

हंसपुरमा हाजिर हुन नदिएपछि साउन २९ मा ठाकुरको सरुवा धनुषाकै कमला नगरपालिकामा गयो । पहिले त्यहाँ बसेर व्यापक अनियमितता गरेको आरोप लागेका उनलाई कमलामा पनि जनप्रतिनिधिले हाजिर हुन नदिएको कमला नगरपालिकाका प्रमुख विशेश्वर यादवले बताए । नगरपालिकामा बस्दा जनप्रतिनिधिहरूबीचमै विवाद गराएर गोप्य रूपमा नगरको बजेटले विभिन्न सामग्री खरिद गरी कमिसन उठाउने र नगरपालिकामा समन्वयभन्दा पनि विवाद बढाएकाले दोस्रो पटक सरुवा भएर आउँदा ठाकुरलाई हाजिर हुन नदिएको यादवले बताए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको