जनकपुरधाम:महोत्तरीको पिपरामा अनुहार नचिनिने गरी जलेको अवस्थामा एक महिलाको शव फेला परेको छ ।
पिपरा गाउँपालिकाको वडा नम्बर ७ स्थित दनौलीको चौरीमा रहेको अशोक ठाकुरको आँप बगैंचामा अनुहार जलेको अवस्थामा प्रहरीले महिलाको शव प्रहरीले बरामद गरेको हो ।
महोत्तरीका प्रहरी उपरीक्षक नकुल पोखरेलले जनाए अनुसार महिला विवाहित रहेको र कम्तीमा एकजना सन्तान भएको हुनुपर्ने प्राथमिक अनुसन्धानमा देखिएको छ । अनुहार नै जलेको कारण मृतक महिलाको पहिचान खुल्न नसकेको बताउँदै उनले २५–३० वर्ष उमेर रहेको अनुमान गरिएको उनले बताए ।
खेतबारी तर्फ गएका स्थानीय वासिन्दाहरुले आँपको बगैँचामा शव हेरेपछि प्रहरीलाई जानकारी गराएको थियो । विहान करिब साढे ८ बजे सुचना प्राप्त भए लगतै घटनास्थलमा प्रहरी पुगेको प्रहरी उपरीक्षक पोखरेलले बताए ।
‘महिलाको सलले घाँटी थिचेर हत्या गरिएको देखिन्छ’ उनले भने, ‘त्यही सल अनुहारमा राखेर जलाइएकोले केही भाग जलेको हो ।’ महिलाले हल्का पहेलो रंगको कुर्ता लगाएकी छन् । प्रारम्भिक अनुसन्धानमा महिलाको हत्या गरिएको स्थान भन्दा केही पर घिसारेर लगिएको देखिन्छ । त्यसपछि महिलाको अनुहारमा सल राखेर आगो लगाइएको छ ।
घटनास्थलको प्रकृति अनुसार महिला र हत्यामा संलग्न व्यक्ति सहमतिमै आँपको बगैँचासम्म पुगेको देखिन्छ । शव फेला परेको स्थल भन्दा केही पर उनीहरुले सहमतिमै केही समय बिताएको हुन सक्ने अनुमान गरिएको छ । तर पछि केही विषयमा असहमति भएर हत्या गरेको हुन सक्ने आशंका गरिएको छ ।
महिलालाई पहिले देखि नै हत्या गर्ने उदेश्यले ललाइफकाइ त्यहाँ सम्म लगेको हुन सक्ने अनुमान प्रहरीको रहेको छ । घटनास्थलसम्म हत्यारा र महिला मोटरसाइकलमा पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको हो । मृतकको पहिचान लुकाउन अनुहार जलाएका अपराधीले महिलाको पर्स, मोबाइल लगायतका सरसामानहरु समेत सँगै लगेको हुन सक्ने प्रहरीको अनुमान छ ।
अनुसन्धानमा प्रहरी उपरीक्षक पोखरेलको टोली, प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुरको टोली, प्रादेशिक अस्पताल जलेश्वरबाट चिकित्सकसमेत बोलाएर प्रहरीले पाँच घण्टा भन्दा बढी घटनास्थलको अनुसन्धान गरेको थियो । प्रहरी उपरीक्षक पोखरेलले अनुसन्धानलाई सहज बनाउन महिलाको पहिचान खुल्न आवश्यक भएको बताए ।
घटनास्थलको मुचुल्का गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको र घटनाका विषयमा थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक सन्तुलाल जयसवारले बताए । अनुसन्धान अपराधिको नजिक सम्म पुगेको र चाँडै खुलासा हुने प्रहरीको दाबी छ । ‘महिलाको पहिचान नखुले सम्म अनुसन्धानलाई बिभिन्न कोणबाट अगाडि बढाइएको छ ’उनले भने, प्रहरी चाँडै अपराधिसम्म पुग्ने छ ।