जनकपुरधाम:हिन्दु धर्मावलम्वीहरुको प्रमुख पर्वहरु मध्ये दिपावली अर्थात लक्षमी पूजा रहेको छ । दिपावली अर्थात प्रकाशको पर्व । मिथिलाञ्चलमा यस पर्वको विशिष्ट महत्व रहेको छ । आध्यात्मिक दृष्टिले दिपावली पर्वलाई अँध्यारोमाथि प्रकाशको विजय प्रतिकको रुपमा लिइन्छ ।
मिथिलाञ्चलमा समेत धूमधामका साथ मनाइने यो पर्वको सामाजिक र धार्मिक दूबै दृष्टिकोणले विशिष्ट महत्व रहेको छ । दिपावली पर्वलाई दीपोत्सव समेत भन्ने गरिन्छ । ‘तमसो माँ ज्योतिर्गमय’ अर्थात् अँध्यारोबाट प्रकाश तर्फ जाउँ । यसलाई उपनिषदको आज्ञाको रुपमा लिइन्छ । जसलाई सिख, बौद्ध तथा जैन धर्मका अनुयायीहरुले समेत अनुसरण गर्छन् ।
दिपावली शब्दको उत्पत्ति संस्कृतको दूई शब्द ’दीप’ अर्थात ’दियो’ र ’आवली’ अर्थात ’लाइन’ वा ’श्रृंखला’को मिश्रणबाट भएको हो । यस पर्वमा घरको कुना कुनामा हिन्दु धर्मावलम्वीहरु दियोको श्रृंखला बनाउँछन् ।
धर्मग्रन्थहरुमा उल्लेख भए अनुसार दिपावलीकै दिन भगवान राम १४ वर्षको बनवास पूरा गरेर अयोध्या फर्केका थिए । भगवान रामको आगमनको उल्लासमा अयोध्यावासीले घ्युको दीयो बालेका थिए । कार्तिक महिनाको अमावस्याको अँध्यारो रातमा सो दियोहरुको प्रकाशले पूरै अयोध्या झिलीमिली भएको थियो । सोही दिनबाट यो पर्व मनाउने परम्परा शुरु भएको मानिन्छ ।
दिपावली पर्व नेपाल, भारत, श्रीलंका, म्यानमार, मरीशस, गुयाना, त्रिनिदाद एण्ड टोबैगो, सूरीनाम, मलेशिया, सिंगापुर, फिजी, पाकिस्तान र अस्ट्रेलियामा समेत धूमधामका साथ मनाइन्छ ।
दिपावलीको सन्दर्भमा पद्म पुराण र स्कन्द पुराण नामक ग्रन्थमा उल्लेख रहेको पाइन्छ । दीयोलाई स्कन्द पुराणमा सूर्यको हिस्सालाई प्रतिनिधित्व गर्ने प्रतिकको रुपमा मानिएको छ । सूर्य जो जीवनका लागि प्रकाश र ऊर्जाको लौकिक दाता हो । हिन्दू कैलण्डर अनुसार कार्तिक महिनामा सूर्यले आफ्नो स्तिथिमा परिवर्तन ल्याउँछ ।
दिपोत्सवका दिन मिथिलाञ्चल सहित दीपावली मनाइने स्थानहरुमा धनकी देवी माता लक्ष्मीको पूजा अर्चना गरिन्छ । माता लक्ष्मीको सम्मानमा आ–आफ्नो घरको सर सफाई गर्नुका साथै रंगरोगनसम्म गर्छन् । दिपावलीको राति माता लक्ष्मीको पूजा अर्चना गरी आफ्नो छिमेकीमा प्रसाद वितरण गर्ने मिथिलाञ्चलमा परम्परा रहेको छ ।