सिनियर कर्मचारी हुँदाहुँदै अध्यक्षले भाई र भतिजोलाई बनाए संयोजक

जनकपुरधाम:उच्च अदालत जनकपुरधामको आदेशलाई अटेर गरी एकडारा गाउँपालिका महोत्तरीका अध्यक्ष दीपनारायण मण्डलले गाउँपालिका र स्वास्थ्य चौकीमा आफन्तलाई इन्चार्ज बनाएका छन् ।

कार्यालयमा जनस्वास्थ्य निरीक्षक भएपनि अध्यक्ष मण्डलले गाउँपालिकाको स्वास्थ्य संयोजकमा आफ्ना भाई सिनियर अहेव महेन्द्र मण्डललाई नगर स्वास्थ्य संयोजक बनाएका हुन् ।

स्वास्थ्य शाखामा हेल्थ असिस्टेन्ट (एचए) को दरबन्दी छ । एचएहरूलाई स्वास्थ्य चौकीमा पठाएर स्वास्थ्यको बजेटमा चलखेल गर्न गाउँपालिका अध्यक्ष मण्डलले भाइलाई त्यसको संयोजक बनाएको कर्मचारीहरुले आरोप लगाएको छ ।

गाउँपालिकमा पद, तह र श्रेणी अनुसार जनस्वास्थ्य निरीक्षक अधिकृत छैटौं सिनियर अहेव भन्दा वरिष्ठ छन् । ‘तर, अध्यक्ष मण्डलले वरिष्ठ कर्मचारीलाई कनिष्ठको मातहतमा राखेर काममा लगाउँदै आएका छन्,’ एक कर्मचारीले भने, ‘गाउँपालिका अध्यक्ष मण्डलले वरिष्ठ जनस्वास्थ्य निरीक्षक उमेश ठाकुर हुँदाहुँदै एकडारा स्वास्थ्य चौकीमा भतिजा विपिनकुमार मण्डललाई स्वास्थ्य चौकी प्रमुख बनाएका छन् ।’

औषधी खरिद, खरिद भएको औषधी स्वास्थ्य संस्थामा दाखिला र वितरण तथा स्वास्थ्यका कर्यक्रममा अनियमितता गर्न गाउँपालिका अध्यक्ष मण्डलले आफन्त र परिवारका सदस्यलाई पालिकाको जिम्मेवारी दिएको कर्मचारीहरूले बताए ।

एकडारा पालिकामा कार्यरत जनस्वास्थ्य निरीक्षक छैटौं उमेश ठाकुर, हलखोरी स्वास्थ्य चौकीमा कार्यरत दीपककुमार मण्डल र कोल्हुवा स्वास्थ्य चौकीमा कार्यरत मुकेशकुमार यादवले सिनियर कर्मचारी हुँदाहुँदै जुनियर स्वास्थ्य संयोजकको मातहतमा रहेर अपमानित भएर काम गर्नु परेकाले उच्च अदालतमा उत्प्रेषण परमादेश मुद्दा दर्ता गराएका थिए ।

उच्च अदालत जनकपुरले ०८० फागुन २२ गते प्रचलित कानुनी व्यवस्था, स्वास्थ्य संस्थाहरूको स्वीकृत दरबन्दी तेरिज, दरबन्दी विवरण तथा स्वास्थ्य चौकीहरूमा पदस्थापन गराएर कामकाज गराउन आदेश दिएको थियो । उच्च अदालत जनकपुरले पुनः ०८१ असार ६ गतेका दिन पालिकालाई आदेश कार्यान्वयन सम्बन्धमा पत्र लेखे पनि हालसम्म आदेश कार्यान्वयनमा आएको छैन ।

अदालतको आदेशपछि एकडारा गाउँपालिकाले तल्लो तहकै कर्मचारीको मातहतमा राखेर उनीहरूलाई काम गराउँदै आएको जनस्वास्थ्य निरीक्षक ठाकुरले बताए । ‘गाउँपालिका स्वास्थ्य शाखा संयोजक महेन्द्र मण्डलले पटक–पटक दुर्व्यवहार गर्दै आएको, हाजिरीमा गयल लेख्ने गरेको र जतिबेला मन लाग्यो स्पष्टीकरण सोध्ने गरेका छन्,’ ठाकुरले भने, ‘गाउँपालिकाले जुनियर कर्मचारीको मातहतमा राखेर अपमान गर्नुका साथै तलब रोक्ने, स्पष्टीकरण सोध्ने, धम्की दिंदा हामी असुरक्षित भएका छौं ।’ स्वास्थ्य शाखाका संयोजक मण्डलले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा गुनासो गर्दा हातपात समेत गरेको ठाकुरले बताए ।

कात्तिक ५ गते शान्ति सुरक्षा पाउँ भनी जिल्ला प्रशासन कार्यालय महोत्तरीमा निवेदन दिएका छन् । स्वास्थ्य संयोजक महेन्द्रले पालिकाका प्रमुख प्रशासकीय अधिकृत योगेशकुमार यादवको कार्यकक्षमै आफूलाई अश्लील गालीगलौज गर्दै हातपात गरेको ठाकुरले बताए । ठाकुरलाई प्रतिशोध साँध्नकै लागि स्वास्थ्य संयोजक महेन्द्रले अहिले उनी कामकाज गर्दै आएको स्वास्थ्य चौकी भटौलियाबाट तानेर स्वास्थ्यचौकी एकडारामा काममा लगाएका छन् ।

स्वास्थ्य संयोजक मण्डलले भने कर्मचारी समायोजन भएर आउँदा आफू सिनियर भएका कारण स्वास्थ्य शाखाको संयोजकको जिम्मेवारी पाएको बताए । कुनै पनि कर्मचारीलाई प्रतिशोधको भावनाले कुटपिट र दुर्व्यवहार नगरेको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको