जनकपुरधाम:दिपावली सम्पन्न भए लगतै मिथिलाञ्चल लगायत तराई मधेशमा हर्सोल्लाषपूर्वक मनाइने छठपर्वको तयारी सुरु भएको छ ।
दिपावलीपछि अन्नकुट तथा गोधन पर्व सम्पन्न भएको भोलीपल्ट देखि नै मिथिलाञ्चलमा पारिवारीक सुख समृद्धिको कामना गर्दै अत्यन्त श्रद्धापूर्वक मनाइने छठपर्वको तयारी शुरु हुन्छ ।
छठ पर्वको लागि अहिले जनकपुरधामका पोखरीहरुलाई सजाउने कार्य जारी रहेको छ भने बजारमा पनि पूजा सामग्री किन्नेहरुको चहलपहल बढेको छ । यस पर्वमा प्रयोग हुने विभिन्न सामग्री किन्न बजारमा चहल पहल बढेको हो ।
आदिदेव सूर्य भगवानलाई अर्घ्य दिन जनकपुरधामसहित मिथिलाञ्चलको नदी, तलाउ, पोखरी, इनार लगायतको जलाशयको किनारमा घाट बनाएर विशेष रूपले श्रृंगारिँदै छ । खास गरी जनकपुरधामको धार्मिक तथा ऐतिहासिक पोखरीहरू गंगासागर, धनुष सागर, अंगराजसर, दशरथ तलाउ लगायतका पोखरीका घाटहरुको सरसफाई गरी कपडाको पण्डाल र झिलिमिली विद्युतिय बतीले सजाइदैछ ।
जनकपुरधामको प्रसिद्ध गंगासागर, धनुष सागर तथा अंगराजसर पोखरीमा मात्रै ११ हजारभन्दा बढी श्रद्धालुहरू छठ पूजा गर्ने गर्दछन् । जनकपुरधामका साथै तराई मधेसका गाउँ—गाउँमा रहेका पोखरीहरूलाई समेत छठ पर्वलाई लिएर सर सफाइका साथै सजाउने कार्य भइरहेको छ ।
चार दिनसम्म मनाईने छठ पर्वको पहिलो दिन ब्रतालुहरु नुहाएर अरबा अरबाईन भोजन गर्ने गर्दछन् भने दोश्रो दिन साँझ प्रसादको रुपमा चामल, सक्खर र दुध मिलाएर बनाएको खीर ग्रहण गरी खरना गर्दछन् । त्यस्तै तेश्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिन तयार पारेको पूजा सामग्री घाटमा लगेर पूजा गर्ने गरिन्छ भने भने चौथो दिन बिहान उदाउँदो सूर्यको अर्घ दिएपछि छठपर्वको विधिवत समापन हुन्छ ।
यसवर्ष मंगलवारदेखि विधिवत रुपमा अरबा अरबाइृन (नहाय खाय) गरी छठ पर्व शुरु भइरहेको छ । बुधवार खरना, बिहीवार संझुका अर्घ र शुक्रवार भोरुका अर्घ दान गरी छठ पर्व सम्पन्न गरिनेछ । कात्तिक शुक्ल चौथीका दिन ‘नहाय–खाय’ विधिबाट पर्व सुुरु हुने भनिए पनि एक दिनपूर्व नै उसिनिएका धानको चामल, कोदो, माछा–मासु, मुसुरोसहितका धार्मिक अनुष्ठानका लागि अशुुद्ध मानिएका खाद्यबस्तु खान छाडेर वर्तालुले छठको तयारी गर्ने चलन छ ।
पंचमी तिथिका दिन दिनभरि निराहार र सांझ पख नैवैद्य दिई खरना गरिनेछ । पर्वको मुख्य दिन षष्ठी तिथिमा निराहार व्रत बसेर साँझपख पवित्र जलाशयमा गई अस्ताउँदा सूर्यलाई अघ्र्य दिइन्छ । यो अघ्र्यलाई मैथिल परम्पराको बोलीचालीमा ‘सझुका अरख’ र ‘सझिँया–घाट’ पनि भनिन्छ । सप्तमीका दिन बिहान उदाउँदा सूर्यलाई अघ्र्य दिएपछि यो पर्व समापन गरिने परम्परा छ । बिहानको यो अघ्र्यलाई ‘भोरका अरख’ भनिन्छ । यसरी यसपालिको छठ आउने शुक्रवार बिहान सम्पन्न गरिने छ ।
सामान्यतया हिन्दू परम्परामा पाञ्चायन (पञ्च देवता गणेश, विष्णु शिव, सूर्य र काली) पुज्दा उदाउँदा सूर्यको सम्झना गरेर उपासना गरिने परम्परा भए पनि छठमा भने अस्ताउँदा सूर्यलाई अग्र (पहिलो) अघ्र्य दिइन्छ । यस पर्वमा भगवान सूर्यसँगै माताका रुपमा आराधना गरिने षष्ठी तिथिको महत्ता रहेको कारण ‘छठ’ भनिएको हो । षष्ठी देवी भगवान सूर्यकी पत्नी मानिएकी हुँदा यो पर्वमा सूर्यसँगै षष्ठीको आराधना गरिन्छ ।
खासमा ‘षष्ठी’ तिथिकै स्मरण मैथिल जनजिब्रोले ‘छठी’ गर्न थालेकाले सूर्यकी पत्नी मानिने षष्ठीको आराधना सूर्यसँगै गरिएको मैथिल विद्वान बताउँछन् । मुख्यत सूर्यकै उपासना व्रतको अभिष्ठ भए पनि ‘षष्ठी’ (छठी) को पुकारा गर्दा सूर्य चाँडै प्रसन्न हुने विश्वासले पर्वमा गाइने गीतमा छठी माईको प्रसङ्ग गाभिएको हो ।
एक फरक प्रसङ्गमा दैत्यराज त्रिपुरासरले दुःख दिएर आहत् भएका देवताले शिव–पार्वतीसँग उसलाई मार्नसक्ने छोरा दिन प्रार्थना गरेपछि भगवान शिवको विर्यपात भएको र सो विर्य समुद्रमा परेर पानीमै विकास भएको शिशुलाई षष्ठी देवीले कात्तिक शुक्ल षष्ठी तिथिकै दिन स्याहार सम्भार गरेर शिव–पार्वतीलाई जिम्मा लगाएकी जनश्रुतिले सन्तानको कल्याण गर्ने देवीका रुपमासमेत यस पर्वमा छठी माईको महत्व गाइने गरिएको छ ।