जनकपुरधाम:मधेस प्रदेशमा पछिल्लो समयमा हत्या हिंसाका घट्ना बढ्दै गईरहेको पाइएको छ । मधेसका ८ वटै जिल्लामा हत्या हिंसाका घटनाहरु बढ्न थालेपछि स्थानीयमा त्रास समेत छ । यसका साथै मधेस प्रहरी कार्यालयकालागि शान्ति सुरक्षा चुनौतीको विषय बन्दै गईरहेको छ ।
कतै हत्यापछि शव फालिएको अवस्थामा फेला परिरहेका छन् भने कतिपय घटना सार्वजनिक भएको केही समयमै प्रहरी घटनास्थलमा समेत पुगेको छ ।
गत कात्तिक १२ गते महोत्तरीको पिपरा गाउँपालिका–७, दनौलीस्थित अशोक ठाकुरको आँपको बगैचा नजिक एक २५ वर्षीया महिलाको शव भेटियो । प्रहरी अनुसन्धानबाट थाहा भयो कि ती महिलाको घाँटी थिचेर हत्या गरिएको रहेछ । महिलाको टाउको जलाइएका कारण पहिचान सुरुमा हुन सकेन तर पछि अनुसन्धानबाट ती महिला धनुषाको शहिद नगरपालिकाको यदुकाहा टोलकी मालती मण्डल रहेको पत्ता लाग्यो । अनुसन्धानका क्रममा विवाहेत्तर सम्बन्धका कारण हत्या भएको खुलासा भएको थियो । महोत्तरी प्रहरीका प्रहरी नायव उपरीक्षक सन्तुलाल जैसवारका अनुसार, मटिहानी नगरपालिका–५का राकेश नायक र उनकी श्रीमती रीना नायकलाई यस घटनामा पक्राउ गरिएको छ ।
त्यसअघि कात्तिक १० गते बाराको महागढीमाई नगरपालिका–१, नैकाटोल निवासी करिब ५० वर्षीय श्रीनारायण यादवको धारिलो हतियार प्रहारबाट हत्या भएको थियो । अनुसन्धानमा जग्गा सम्बन्धी विवादका कारण हत्या भएको पत्ता लाग्यो । केही दिनपछि बाराको स्पेसल टोलीले आरोपी सोथाइ चौधरीलाई पक्राउ गरी सार्वजनिक गरिसकेको छ ।
गत असोज २७ गते सिरहाको सुखीपुर नगरपालिकामा कृष्ण महराको हत्या भयो । घटनामा महराको साथीहरुले उनको प्रेमिकासँग यौन प्रस्ताव राखेका थिए, तर महराले त्यसलाई अस्वीकार गर्दा उनलाई हत्या गरिएको प्रहरी अनुसन्धानमा खुलेको छ । यस घटनामा संलग्न पाँचैजनालाई प्रहरी पक्राउ गर्न सफल भएको छ ।
मधेस प्रदेशमा चालू आर्थिक वर्षको ४ महिनामा मात्रै २६ जनाको हत्या भएको प्रहरी तथ्यांकले देखाएको छ । फेरी अधिकांश हत्याका कारण प्रेम सम्बन्ध तथा विवाहोत्तर सम्बन्ध रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
हत्याका घटना लगभग प्रदेशका ८ वटै जिल्लामा घटेको प्रहरी तथ्याङ्कले देखाइरहेको छ । सबैभन्दा बढी सर्लाही जिल्लामा हत्याका घटना भएका प्रहरी तथ्याङ्क छ । सिरहामा ४ महिनाको अवधिमा ६ जनाको हत्या यही भएको प्रहरीको तथ्यांक छ ।
सिराहा तथा रौतहटमा ४-४ जनाको हत्या गरिएको छ । यसै गरी सप्तरीमा एक जना बालकसहित २ जनाको हत्या भएको छ । यही अवधिमा बाराबाट समेत एक बालिकासहित ४ जनाको हत्याका घटना भएको छ ।