नेपाली नागरिक लोभ्याउन पुरस्कार र अश्लील डान्स अफर
वीरगञ्ज:चाडबाडमा वीरगञ्जमा सञ्चालित क्यासिनोहरूले ग्राहक लोभ्याउन पुरस्कार र बलिउड फ्लेवर अश्लील डान्ससहितका योजना ल्याएका छन् ।
नेपाली नागरिकलाई क्यासिनो प्रवेशमा रोक लगाएका अवस्थामा क्यासिनो संचालकहरुलाई विभिन्न प्रलोभन देखाउँदै जुवा खेल्न प्रेरित गरिरहेको छ । नाच र आकर्षक उपहारको घोषणा गर्दै कानूनलाई खुलेआम चुनौती दिंदै नेपाली नागरिकलाई जुवाको जालमा पारिरहेपनि प्रशासन मौन देखिएका छ् ।
क्यासिनोहरूले जुवा खेलाउन नेपाली नागरिक लोभ्याउन छठ पर्वको अवसरमा विभिन्न अफर र स्किम पनि राखिएको छ । १० हजारको क्वाइन लियो भने चिठ्ठा पाइन्छ, जुन चिठ्ठामा मोटरसाइकल, टिभी, मोबाईल, चाँदीको सिक्का लगायतका उपहार राखिएको छ । मुज्रा नाइट विथ बलिवुड फ्लेभर कार्यक्रम आयोजना गरिएको छ । भारतको थियटरबाट बोलाएर अश्लिल नृत्यहरु गराउंदै आएको छ ।
क्यासिनोको यस प्रलोभनका कारण नेपाली नागरिक पनि जुवा खेल्न जाने गरेको बताइएको छ । चाडबाडको रमाइलोमा सहभागी हुने बहानामा थुप्रै नेपाली नागरिकलाई यो जुवाको लतमा फसाउने काम भइरहेकोप्रति स्थानीय पनि संलग्नता हुन सक्ने देखिन्छ ।
वीरगञ्जमा क्लार्क रिसोर्ट, लड्र्स दियालोको किङ्गस कलेक्सन प्रालि, सुरज होटेल र सेन्ट्रल मिडिया ग्रुपद्वारा सञ्चालित ह्याप्पी आवर क्यासिनोले नेपाली नागरिकलाई आकर्षित गर्ने योजनाहरू ल्याउँदै आएका छन् । यस प्रकारका योजना नेपाली कानुन विपरीत भएको हुँदा पनि स्थानीय प्रशासनको उदासीनता तथा नियमनको अभावका कारण क्यासिनो सञ्चालकले अझ बढी हौसला पाएको देखिन्छ ।
कानूनलाई क्यासिनो संचालकहरुले दिइरहेको चुनौती बारे जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालसँग जिज्ञासा राख्दा प्रशासनले गम्भीरताका साथ हेरिरहेको भने । प्रजिअ अर्यालले यस विषयमा प्रहरी प्रशासनसँग समन्वय गरी तुरुन्तै अनुगमन गर्ने प्रतिबद्धता बताए ।
क्यासिनोहरूले नेपाली नागरिकलाई आकर्षित गराएर खेलाउनु गैर कानुनी गतिविधि भएको बताउँदै उनले कडाइका साथ कारबाही गरिने जनाएका छन् । तिहार अघि नै जिज्ञासा राखेकोमा अहिलेसम्म प्रशासनले कुनै ठोस कदम उठाउन सकेको छैन ।
यता जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले पनि गैर कानुनी गतिविधि गर्ने जोकोही पनि कानुनी कारबाहीको भागीदार बन्नुपर्ने बताएका छन् । हल्ला सुनिए पनि प्रहरी तथ्य र प्रमाणको भरमा अघि बढ्ने बताउँदै उनले यस विषयलाई गम्भीरतापूर्वक लिएको बताए ।
सामाजिक अभियन्ता तथा नागरिक अधिकारकर्मीहरूले प्रशासनलाई चाँडो कदम चाल्न आग्रह गरेका छन् । क्यासिनोहरूले आफ्नो आर्थिक लाभका लागि नियमको खिल्ली उडाइरहेको र यसले समाजमा नकारात्मक प्रभाव पार्ने भन्दै उनीहरूले कडाइका साथ नियम पालन गर्न माग गरेका छन् ।