जनकपुरधाम:कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सांसद लिलाबल्लभ अधिकारीको नाम मानव तस्करीमा जोडिएको छ । कसैलाई पत्तै नदिई जापान हिँडेका उनी नक्कली कागज बनाएर तीन जनालाई सँगै लिएर गएपछि जापानको अध्यागमनले डिपोर्ट गरेको थियो ।

मुख्यमन्त्रीलाई जानकारी नै नदिई जापान गएको भन्दै उनको आलोचना भएपछि बुधवार राजीनामा दिएका छन् । तर राजीनामाको कारण जानकारी नदिई जापान जानुभन्दा पनि गम्भीर अपराध मानव तस्करी जोडिनु हो ।

अधिकारी मानव तस्करीमा जोडिएको घटनाबारे अहिले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ६ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । पक्राउ परेकाहरु प्रहरी नै हुन । अनुसन्धानमा रहेकाहरूमा नक्कली कागजको आधारमा मन्त्री अधिकारीसँग जापान गएर उतै लुक्ने उद्देश्यले गएका तीन जना समेत छन् । अधिकारी भने मन्त्री भएका पक्राउ परेका छैनन् ।

प्रहरीले औपचारिक रूपमा यस घटनाबारे केही बोलेको छैन । खोटाङका ३६ वर्षीय दावा शेर्पा, जनक राई र रसुवाका २२ वर्षीय कञ्चन देवकोटा नक्कली कागजका आधारमा मन्त्रीसँगै जापान गएको देखिएको र उनीहरूसहित ६ जना प्रहरी हिरासतमा रहेको पुष्टि भने भयो ।

जापानबाट डिपोर्ट भएका तीन जनाको बयानको आधारमा प्रहरीले धादिङका ३४ वर्षीय महेश पाण्डे, नुवाकोटका २३ वर्षीय जुगल रिजाल र दोलखाका ३० वर्षीय वीरबहादुरलाई समेत समातेको छ । अनुसन्धानरत स्रोतका अनुसार उनीहरू मन्त्रीको सचिवालयका कर्मचारी बनेर कात्तिक १४ मा मन्त्री सहित उनीहरूलाई टोकियोस्थित जापानको अध्यागमन कार्यालयले डिपोर्ट गरेको थियो ।

डिपोर्ट भएर नेपाल फर्काइएका चारै जनालाई त्रिभुवन विमानस्थलमा रहेको प्रहरीले नियन्त्रणमा लिएका थिए। अधिकारी मन्त्री भएको खुलेपछि उनलाई छाडियो । तीन जनालाई उपत्यका अपराध अनुसन्धान कार्यालयमा पठाइयो ।

अनुसन्धानमा उनीहरू प्रदेश मन्त्रालयको नक्कली कागजपत्र बनाएर जापान गएको खुलेपछि थप तीन जना पक्राउ परे । पक्राउ परेका ६ जनासँगको बयान र प्राप्त कागजपत्र अनुसार मानव तस्करीमा मन्त्री रहेका अधिकारीको प्रत्यक्ष संलग्नता देखिने एक प्रहरी अधिकारीले जानकारी दिए ।

‘अहिले हिरासतमा ६ जना छन्, अनुसन्धान भइरहेको छ। नक्कली कागजपत्रहरू मन्त्रालयमै बनेको देखिएकाले अधिकारी अनुसन्धानको दायरामै छन् । आज राजीनामा दिए । अब औपचारिक अनुसन्धानमा आउलान्’ एक प्रहरी अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा भने ।

मन्त्री विदेश भ्रमणमा जाँदा प्रदेश र संघीय सरकारको अनुमति लिनुपर्छ । तर, मन्त्री अधिकारीले सो प्रक्रिया पूरा नगरी कात्तिक १३ गते जापान गएका थिए । उनी टोकियो महानगरपालिकाको कार्यक्रममा गएको भनिए पनि कार्यक्रम तय थिएन ।

यता मन्त्री अधिकारीले “टोकियोमा हुने कार्यक्रमका म एक्लै गएको हो । तर, हङकङमा तीनजना नेपाली भेटिए । उनीहरू उतै लुक्ने योजनामा रहेछन् ।“ उनीहरू उतै बस्ने खुलेपछि देशप्रति गद्दारी गर्न हुँदैन भनेर आफू फिर्ता हुन खोज्दा ट्रान्जिटबाट फिर्ता हुन नमिलेको भनेका छन् ।”

मन्त्री अधिकारी नेकपा (एमाले)बाट मोरङको क्षेत्र नम्बर २ (ख) बाट दोस्रो कार्यकालका लागि निर्वाचित सांसद हुन् । पहिलो कार्यकालमा पनि सुन तस्करी र सनम शाक्यको हत्या प्रकरणमा संलग्न प्रहरी अधिकृतको पक्षमा अदालतमा बहस गरेपछि उनलाई सभामुखले तीन महिनासम्म सभाका बैठकमा धारणा राख्न रोक लगाएका थिए ।‌

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको