काठमाडौँ:कमला ह्यारिसको आभा, उल्लास, आशा र हलिउडिया मुस्कानको चहलपहल यहीँसम्म मात्र थियो । अमेरिकाले तिनलाई अस्वीकार गरिदिएको छ ।
चार वर्षअघि चुनाव जितेपछि जो बाइडेनले डोनाल्ड ट्रम्पको कार्यकाललाई ‘असामान्य क्षण’ मात्र घोषणा गर्दै खारेज गरिदिएका थिए । तर, यसपटक इलेक्टोरल कलेज र लोकप्रिय मत दुवै ट्रम्पले जित्दा इतिहासले बाइडेनको कार्यकाललाई चााहिँ असाधारण क्षण साबित गर्ने देखिएको छ ।
अखिरमा ट्रम्प अमेरिकी इतिहासकै सबैभन्दा चर्चित र अनुसन्धानमा परेका उम्मेदवारमध्ये एक हुन् । एकपटकका लागि उनलाई चुन्नु दुर्घटना हुनसक्छ । दोस्रोपटक सबैले जानेरै उनलाई मत दिएका हुन्। ट्रम्प वैधानिक रूपमै अबको अमेरिकी राष्ट्रपति हुन् । किन त ? यो सवाल महत्त्वपूर्ण छ ।
मुख्य कारण के हो भने ट्रम्पले जे बेचिरहेका छन्, पर्याप्त संख्यामा अमेरिकी त्यही किन्न खोजिरहेका छन् । अवैध आप्रवासीहरूको सामूहिक निकाला, विश्वव्यापीकरणको अन्त्य र पहिचानप्रति उदार सम्भ्रान्तहरूको दृष्टिकोण, जसलाई जागरुकता (वोकनेस) भन्ने गरिन्छ, प्रति माझी औँला ।
यी सबै कुराको भार मतदातामा ट्रम्पको चरित्रप्रति रहेको सन्देहभन्दा अत्यधिक थियो । अमेरिकाले दोषी ठहर भएका अपराधीलाई चुन्ने निश्चित देखिएको छ, जसलाई अघिल्लोपालि चुनावी नतिजा उल्ट्याउने कोसिस गरेको आरोप समेत लागेको थियो। उनी तानाशाहहरूको खुला प्रशंसक पनि हुन् ।
उनको निर्वाचनलाई दुई तरिकाले अर्थ्याउन सकिन्छ । या त ट्रम्पले पैदा गर्ने खतरालाई मतदाताहरू गम्भीरतापूर्वक लिँदैनन् । या उनीहरूलाई अब के हुन्छ भन्ने प्रष्ट थाहा छ, तैपनि यसलाई सामान्य मान्छन् ।
जे भए पनि ट्रम्पले पुन: चुनाव जित्नु डेमोक्र्याटहरूका लागि अस्तित्वमाथिकै संकट हो । त्यस्तै, अमेरिकाका सहयोगी मुलुकका लागि पनि यो एकदमै ठूलो परिवर्तनकारी घटना हो । अब छिटै नै डेमोक्र्याटिक पार्टीभित्र आरोप–प्रत्यारोप चल्नेछ । जसका क्रममा बिरामी बाइडेनले मनोनयन त्याग्न निकै ढिलाइ गरेको तथ्य पनि उठाइने छ । यदि बाइडेन ६ महिनाअघि नै पछि हटेका भए डेमोक्र्याटिक पार्टीसँग ह्यारिसभन्दा गतिलो उम्मेदवार खोज्ने समय हुने थियो ।
सायद असली प्राइमरी चुनाव भएको भए पनि फरक पर्ने थियो । ह्यारिसका प्रति निष्पक्ष हुने हाृ भने भन्नै पर्छ, उनले निकै राम्ररी चुनावी अभियान सञ्चालन गरिन् । एक मात्र बहसमा ट्रम्पलाई हराइन् र सबै डेमोक्र्याटलाई आफ्नो पछाडि एकताबद्ध बनाइन् ।
तर, जब कुरा अर्थतन्त्रको आयो, तब उनी बढीमा औसत मात्र साबित भइन् । यो विषयलाई उनले सकेसम्म छल्ने कोसिस गरिरहिन् । अमेरिकाको जुनसुकै चुनावमा आकर्षक आर्थिक मार्गचित्र नहुनु ठूलो कमजोरी हो । प्रतिस्पर्धात्मक प्राइमरी भएको भए त्यहाँ यो कमजोरी पत्ता लाग्ने थियो ।
तर, बाइडेनको हातबाट सजिलै उम्मेदवारको ताज पहिरिन पाएकाले ह्यारिससँग आफ्नो कमजोरी सुधार्ने पर्याप्त मौका थिएन । अथवा सुधार गर्नुपर्ने कारण पनि उनले देखिनन् । तैपनि उनले १९९२ मा बिल क्लिन्टनले जसरी आफू कट्टर नभएको साबित गर्ने मौका पाउने थिइन् ।
ह्यारिसले १६ हप्ताको संक्षिप्त चुनावी अभियानका क्रममा ज्यादा प्रगतिशील मुद्दाहरूबाट आफूलाई टाढै राखिन् । तर, विगतमा आफूले समर्थन गरेको खुला सीमा र प्रहरीको बजेट कटौतीजस्ता मुद्दाहरूलाई दृढतापूर्वक अस्वीकार गरिनन् ।
२०२० को जितको अनर्थ निकालेको दोष बाइडनलाई पनि दिन सकिन्छ । उनले अमेरिकी लोकतन्त्रप्रति मतदाताको चिन्ताका कारण होइन, ट्रम्पले कोरोना महामारी सम्हाल्न नसक्नुको परिणामस्वरूप चुनाव जितेका थिए । बाइडेनले महामारी अन्त्य गर्ने र अमेरिकी राजनीतिलाई सामान्य अवस्थामा फर्काउने वाचा गरेर जितेका थिए ।
तथापि, आफ्नो मनोनयनदेखि शपथको बीचमा कहीँ न कहीँ बाइडेनले व्यापक परिवर्तनको लाइसेन्स पाएको ठान्न थाले । उनले ल्याएको १.९ ट्रिलियन डलरको आर्थिक प्रोत्साहनले मुद्रास्फिति झनै बढायो ।
निश्चित रूपमा ट्रम्पले अमेरिकाको संवैधानिक व्यवस्थामाथि गम्भीर खतरा पैदा गरेका थिए । जसलाई उनी निरन्तरता दिँदैछन् । तथापि, बाइडेनले त्यस्ता महान्यायाधिवक्ता चुने, जसले ट्रम्पलाई जिम्मेवार ठह¥याउन कुनै हतार गरेनन् । इतिहासकारहरू यस विषयमा अलमलिने छन् ।
२०१६ मा हिलारी क्लिन्टनको हारमा जस्तै ह्यारिसको पराजयमा पनि धेरै पक्षको हात छ । तर, यसपटक विदेशी मुलुकलाई दोष लगाउन निकै कठिन हुने छ । निस्सन्देह: रुसका भ्लादिमिर पुटिनले ट्रम्पको जितमा ठूलो फाइदा देख्ने छन् । खासगरी युक्रेनको मामिलामा। तथापि, ट्रम्पलाई ह्वाइट हाउसमा पु¥याएको अमेरिकीहरूले नै हो ।
जे भए पनि, डेमोक्र्याटहरूबीचको आरोपप्रत्यारोप गौण विषय हो । मुख्य कुरा त अब के हुन्छ भन्ने हो। ट्रम्पले बदला लिने कसम खाएका छन् ।
राष्ट्रपति, सिनेट र प्रतिनिधि सभा, तीनवटै रिपब्लिनकले जित्न सम्भव छ । रिपब्लिकनहरूले क्यापिटल हिलमा पूर्ण रूपमा कब्जा जमाए भने ट्रम्पको कार्यकारी अधिकारीमा कुनै अंकुश बाँकी रहने छैन । सर्वोच्च अदालतले त ट्रम्पलाई जुलाईमै उन्मुक्ति दिएर न्यायिक ‘ब्ल्यांक चेक’ नै हस्तान्तरण गरिसकेको छ ।
अमेरिकाले निर्णायक मोड लिएको छ । आफ्ना शत्रुहरूविरुद्ध बदला लिने ट्रम्पको वाचालाई अन्याथा सोच्नु मूर्खता हुनेछ । त्यस्तै, मुलुकको जनमत आधाआधा विभाजित हुँदा उनले विवश महसुस गर्नेछन् भन्ने सोच्नु पनि उत्तिकै भ्रान्तिपूर्ण हुनेछ । अकल्पनीय रूपमा विध्वंसकारी तरिकाले अमेरिकालाई बदल्ने जनादेश ट्रम्पसँग छ । २०२४ को निर्वाचनको भयंकर नतिजाबाट पछि हट्ने कुनै बाटो छैन ।