जनकपुरधाम : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले मैथिली भाषाका महाकवि विद्यापतिको बहुआयामिक व्यक्तित्वबाट नयाँ पुस्ताले शिक्षा ग्रहण गर्नु आजको आवश्यक्ता रहेको बताएका छन् । विद्यापति स्मृति पर्वको अवसरमा विद्यापति ट्रष्टले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता निधिले विद्यापति बहुआयामिक प्रतिभाका धनी रहेकाले उनको व्यक्तित्वबाट नयाँ पुस्ताले शिक्षा ग्रहण गर्नु आवश्यक रहेको बताए । उनले भने ‘विद्यापतिको विषयमा नयाँ पुस्ता सामु यहाँका बुद्धिजीविहरुले प्रचार प्रसार गर्नुपर्छ ।’
निधिले भने ‘विद्यापति एक भूमिकामा बाँधिने कवि थिएनन् उनी कसैकालागि बाबा, कसैकालागि राजनीतिज्ञ त कसैका लागि पथ प्रदर्शक समेत थिए, उनको यी सबै भूमिकाबाट शिक्षा आर्जन गर्नुु पर्छ ।’ उनलाई कविको रुपमा मात्रै देखिनु बेइमानी हुुने बताउँदै निधिले उनी क्रान्तिकारी समेत रहेको बताए । विद्यापति राजनीतिक क्रान्ति, सामाजिक क्रान्ति तथा राज्य शासन संचालन पद्धतिको प्रणेता रहेको निधिको भनाई थियो ।
विद्यापति ट्रष्टका अध्यक्ष दीपक झाको अध्यक्षतामा आयोजित कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साह, उपप्रमुख किशोरी साह लगायतको उपस्थिति रहेको थियो । पर्वको अवसरमा विद्यापतिमाथी केन्द्रित रहेर कविहरुले आ–आफ्नो कविता समेत वाचन गरेका थिए ।