जनकपुरधाम : महोत्तरीमा वडाध्यक्ष छोराको रहस्यमय मृत्युपछि शोकमा रहेकी आमालाई हृदयाघात भएको छ ।

रामगोपालपुर नगरपालिका– २ का वडाध्यक्ष मुकेश यादवको मृत्युको शोकमा रहेकी आमा समुद्रीदेवी यादवको गएराति हृदयाघातको कारण मृत्यु भएको हो । ३५ वर्षीय यादवको गएको भदौ ९ गते बिहान शंकास्पद अवस्थामा शव फेला परेको थियो । उनको हत्यामा संलग्न भएको आरोपमा दुईजना पक्राउ परेका छन् । उनीहरु पुर्पक्षको लागि हाल जलेश्वरस्थित जिल्ला कारागारमा छन् ।

वडाध्यक्ष मुकेशको मृत्युपछि रामगोपालपुर– २ मा आगामी मंसिर १६ गते उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनको लागि माओवादी केन्द्रले मुकेशकी पत्नी आइतीकुमारी यादवलाई मंगलबार दिउँसो मात्रै उम्मेदवार घोषणा गरेको थियो । बुहारी उम्मेदवार घोषित भएकै राति सासुलाई हृदयघात भएको हो ।

मंगलबार वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यतामा रामगोपालपुरमा भएको सभामा माओवादी कन्द्रले आइतीकुमारीलाई वडाध्यक्षको उम्मेदवार बनाउने घोषणा गरेको थियो ।

‘हामीले यो निर्णय केही दिनअघि नै गरेका थियौँ,’ माओवादी केन्द्र महोत्तरीका इन्चार्ज राजु खड्काले भने, ‘हिजो दिउँसो आइतीकुमारीलाई वडाध्यक्षको उम्मेदवार घोषणा गरिएको थियो । छोराको हत्यापछि शोकमा रहेकी आमा समुद्रीदेवको राति नै हृतयघातबाट मृत्यु भयो । एउटा शोकमाथि अर्काे शोक थपियो ।’

गएको भदौ ९ गते बिहान महोत्तरीको बर्दिबास नगरपालिका–८ को सडक छेउमा मोटरसाइकलसँगै वडाध्यक्ष यादवको शव फेला परेको थियो ।

माओवादी केन्द्रले उनको हत्या भएको दाबी गर्दै प्रहरीलाई अनुसन्धानको लागि विभिन्न ढंगले दवाव दिँदै आएको थियो ।

घटनाको लामो अनुसन्धानपछि प्रहरीले महोत्तरीकै औरही नगरपालिका–७ बस्ने सञ्जीव झा र दिलिप मण्डल पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएको छ । उनीहरु यही कात्तिक ७ गते कर्तव्य ज्यान (हत्या) सम्बन्धी कसुरमा पुर्पक्षका लागि जलेश्वर कारागार चलान भएका छन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको