जनकपुरधाम : पूजा महतोको किर्तिमानी शतकले नेपाल यू–१९ महिला टी–२० विश्वकपमा छनोट भएको छ । मंगलवार महतोको किर्तिमानी शतकसंगै बुधवार भएको अन्तिम खेलमा युएईलाई ८ विकेटले पराजित गर्दै नेपाल विश्वकपमा पुगेको हो ।

युएईले दिएको ८४ रनको लक्ष्य पछाएको नेपालले १४.३ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गर्दै प्रतियोगितामा शिर्ष स्थानमा रहदै विश्वकपमा छनोट भएको हो । यसअघि नेपालले टस हारेर पहिला बलिङ गर्दै शानदार बलिङ गरेर युएईलाई २० ओभरमा ९ विकेट गुमाउँदै ८३ रनमा रोकेको थियो ।

यू–१९ महिला टी–२० विश्वकप आगामी जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा हुँदै छ। १६ देशले भाग लिने यस विश्वकपमा १५ देशको टुंगो यसअघि नै लागिसकेको थियो भने नेपाल विश्वकप खेल्ने १६ देश बनेको छ। यस विश्वकपमा आयोजक मलेसिया, अघिल्लो विश्वकप खेलेका १० देश र क्षेत्रिय छनौटबाट नेपालसहित ५ देशले भाग लिँदै छन् ।

जसमा अघिल्लो विश्वकप खेलेका अस्ट्रेलिया, बंगलादेश, इङल्याण्ड, भारत, आयरल्याण्ड, न्यूजील्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका र वेस्ट इण्डिज रहेका छन् । त्यस्तै क्षेत्रीय छनौटबाट नेपालसहित नाइजेरिया, सामोआ, स्कटल्याण्ड र अमेरिका रहेका छन् ।

यस विश्वकप खेल्ने १६ देशलाई चार समुहमा बिभाजन गरिएको छ । जसमा नेपाल समूह डी मा परेको छ । यस समूहमा अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्ड रहेका छन् । यसअघि २०२३ मा भएको पहिलो यू–१९ महिला टी–२० विश्वकप भारतले जितेको थियो। २०२३ को विश्वकप छनौट प्रतियोगितामा नेपाल तेस्रो हुदै एसियाबाट छनौट हुन सकेको थिएन । एशियाबाट युएई शिर्ष स्थानमा रहदै छनौट भएको थियो ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको