काठमाडौँ : भारतको प्रधानमन्त्री नरेन्द्र मोदी बिहारको दरभंगामा एम्स अस्पतालको शिलान्यास गरेका छन् । बिहारको दरभंगा आएका प्रधानमन्त्री मोदीले एम्स अस्पतालको शिलान्यास गर्नुका साथै बिहार राज्यकालागि १२ हजार करोडको विभिन्न योजनाहरुको घोषणा गरेका हुन् । मोदीले दरभंगा वाईपास रेल लाइनको भर्चुअल उदघाटन समेत गरेका हुन् । उनले एम्स अस्पतालको निर्माण भएपछि यस भेगको स्वास्थ्य क्षेत्रमा ठूलो टेवा पुग्ने बताए । मोदीले अस्पतालको निर्माणसंगै ७० वर्षभन्दा माथीका बृद्धकालागि नि:शुल्क स्वास्थ्य सुविधा प्रदान गरिने घोषणा समेत गरे ।
एम्स अस्पतालको शिलान्यासपछि प्रधानमन्त्री मोदीले महाराजा कामेश्वर सिंहलाई स्मरण गर्नुका साथै मैथिली भाषाका प्रसिद्ध लोकगायिका शारदा सिन्हालाई श्रद्धाञ्जली समेत अर्पण गरे ।
कार्यक्रममा बिहारका राज्यपाल राजेन्द्र विश्वनाथ आर्लेकर, मुख्यमंत्री नीतीश कुमार, कन्द्रिय मन्त्री नित्यानंद राय, चिराग पासवान, जीतनराम मांझी, गिरिराज सिंह, रामनाथ ठाकुर, सतीश चंद्र चौबे, उप मुख्यमंत्री सम्राट चौधरी, विजय कुमार सिन्हा, स्वास्थ्य मन्त्री मंगल पाण्डेय लगायतको उपस्थिति रहेको थियो ।